परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सबै लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन्।

संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताए।

उनले हालैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन आवश्यक भएको बताए र देशव्यापी पुनर्निर्माणमा सबै पार्टी पङ्क्ति र जनसमुदायलाई उच्च प्राथमिकताका साथ लाग्न आह्वान गरे।

प्रचण्डले भदौ २३ र २४ का घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माओवादीको माग रहेको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, ‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो। त्यति हुँदाहुँदै पनि भदौ २३ र २४ का आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन। भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो।’