जनताले गरेका क्रान्ति, सङ्घर्ष र आन्दोलनको उपलब्धि हो संविधान : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
संविधान दिवसको अवसरमा जारी सन्देशमा उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको स्मरण गराएका छन्। यस अवसरमा सभापतिले आफ्नो जीवन उत्सर्ग गरेका सम्पूर्ण ज्ञात–अज्ञात वीर सहिदहरूको बलिदानको उच्च कदर गर्दै उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
देउवाले सन्देशमा भनेका छन् कि कांग्रेसको नेतृत्वमा जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट संविधान पारित भएको थियो। यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ। संविधान जारी भएको एक दशक पूरा भएको यस ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हर्षोल्लासका साथ मनाउनुपर्ने उनले जोड दिएका छन्।
सभापति देउवाले न्याय, समानता, स्वतन्त्रता र बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न भएका राजनीतिक तथा सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति उच्च सम्मान र श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।