ओलीको चेतावनी : असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनु बाहेक केही पाइँदैन
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनबाहेक केही हात नलाग्ने चेतावनी दिएका छन्। उनले इतिहासबाट पाठ सिक्नुपर्ने उदाहरणको रूपमा काजी भीम मल्लको प्रसङ्ग उल्लेख गरे।
संविधान दिवसको अवसरमा जारी सन्देशमा ओलीले भने, ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ।’ उनले सबै नेपालीलाई संविधान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न एकजुट हुन अपिल गरे।
ओलीले संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्दै बताए कि नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार सुनिश्चित गरेको छ। उनले नाकाबन्दी र सार्वभौमसत्तामा उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अहिले पनि ताजै रहेको बताए।
उनका अनुसार संविधान जारी भएपछि नेपालमा यातायात संरचना विकास, छिमेकी मुलुकसँग पारवहन सम्झौता, र अर्थतन्त्र मजबुत बनाउने काम सुरु भएको थियो। तर हालैको जेन–जी आन्दोलनमा घुसपैठमार्फत हिंसा मच्चाइएर निरपराध युवाको ज्यान गएकोमा उनले दुःख व्यक्त गरे। ‘सरकारले प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थिएन; प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन आवश्यक छ,’ उनले भने।
ओलीले संविधानमाथि भइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालय र सर्वसाधारण सम्पत्तिमाथि गरिएको आगजनी र तोडफोडलाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भने। ‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने विषय समयले आफैँ बताउनेछ,’ उनले टिप्पणी गरे।