कञ्चन–आहुती सहित १० नेताहरूको अपिल : स्वाधीन अन्तरिम सरकार गठन गरौँ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव आहुतीसहितका नेताहरूले जेन-जी समूहको नाममा भएको आन्दोलन प्रतिक्रान्ति र षड्यन्त्रबाट अपहरण भएको भन्दै देशभक्त, जनवादी, क्रान्तिकारी र प्रगतिशील शक्तिहरूलाई ‘स्वाधीन अन्तरिम संयुक्त सरकार’ गठन गर्न आह्वान गरेका छन्।

कञ्चन र आहुतीसहित १० नेताहरूले शुक्रबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भदौ २३ गते सुरु भएको जेन-जी आन्दोलनलाई ‘दलाल–नोकरशाही पूँजीवादी व्यवस्थाको अन्त्य गर्ने ऐतिहासिक कदम’ बताइएको छ। तर भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालतलगायत संरचना र राष्ट्रिय सम्पत्तिमा भएको आगजनीलाई ‘अग्रगामी आन्दोलनमाथि पश्चगामी षड्यन्त्र’ ठहर गर्दै यसले देशलाई प्रतिगमन र प्रतिक्रान्तितर्फ धकेलेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ: ‘दलाल पूँजीवादी व्यवस्थाको शोषण र उत्पीडनले प्रताडित नेपाली समाजलाई यथास्थिति वा पश्चगमन होइन, व्यापक राजनीतिक, आर्थिक र सामाजिक पुनर्संरचना सहितको आधुनिक नेपाल निर्माण आवश्यक छ।’

नेताहरूको ठहर अनुसार यसका लागि मजदुर, किसान, बुद्धिजीवी, देशभक्त, जनवादी, क्रान्तिकारी र प्रगतिशील शक्तिहरूको सहभागितामा स्वाधीन अन्तरिम संयुक्त सरकार गठन अपरिहार्य छ।

संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने अन्य पार्टी र नेताहरूमा नेकपाका बसन्त बोगटी, अखिल नेपाल कम्युनिष्ट पार्टीका नारायण शर्मा ‘कमलप्रसाद’, समाजवादी कम्युनिष्ट पार्टी नेपालका पूर्ण बहादुर सिंह ‘समरजंग’, श्रमिक जनता पार्टी नेपालका दुर्गा बराइली ‘संघर्ष’, ग्रेटर नेपाल कम्युनिष्ट पार्टीका मुक्ति, नेकपा (विद्रोही) का विके सिंड नेपाली ‘प्रतिवाद’, नेकपा (क्रान्तिकारी) का अरुण घिसिङ र रेडफोर्स नेपालका मार्शल रहेका छन् ।

यस्तो छ वक्तव्य :