सत्ता संकटबीच चीनको भनाइ : स्थिरता बिना नेपाल असुरक्षित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँगै नेपाल गहिरो राजनीतिक संकटमा फसेको बेला चीनले पनि औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपाल र चीनबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै भनिन्, “आशा छ कि नेपालका विभिन्न क्षेत्रले आन्तरिक समस्याहरूलाई सही तरिकाले समाधान गर्नेछन् र चाँडै देशमा व्यवस्था तथा स्थिरता फर्काउनेछन्।”
नेपालमा पछिल्ला दिनहरूमा जेन-जी समूहको प्रदर्शनले राजधानी हल्लाएको छ। सोमबार र मंगलबार भएका विरोध प्रदर्शनपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका छन्। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी समूहलाई वार्ताका लागि बोलाएका छन्। समूह अहिले प्रतिनिधि चयन प्रक्रिया अघि बढाइरहेको छ, जसले आगामी राजनीतिक कदमलाई निर्धारण गर्नेछ।
चीनको प्रतिक्रिया केवल औपचारिक कूटनीतिक भाषा मात्र नभई नेपालको आन्तरिक स्थिरता र सत्ता समीकरणमा उसको गहिरो चासो पनि प्रकट गर्छ। “स्थिरता बिना नेपाल असुरक्षित” भन्ने माओको भनाइले संकेत गर्छ कि छिमेकी मुलुकले नेपालभित्रको अस्थिरतालाई ध्यानमा राख्दै रणनीतिक दृष्टिले निगरानी गरिरहेको छ।
राजनीतिक विशेषज्ञहरूका अनुसार, ओलीको राजीनामा र जेन-जी समूहको सक्रियता, नेपालको लामो समयदेखि चलेको पारम्परिक सत्ता संघर्षको अर्को चरणको सुरुवात हुनसक्छ। यसैबीच, चीनले दिएको सन्देशले स्पष्ट पार्छ–नेपालमा स्थिरता फर्किनु अत्यन्त आवश्यक छ, नत्र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौती सिर्जना हुन सक्छ।