स्वाधीन संयुक्त सरकार गठन गर्न नेकपा (बहुमत)को अपिल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले दलाल पुँजीवादी सत्ता असफल भइसकेको भन्दै स्वाधीन संयुक्त सरकार गठनको माग गरेको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सोमवार जारी गरेको प्रेस वक्तव्यमार्फत पछिल्लो पुस्ताका युवाहरुले उठाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सरकारले गरेको दमनको कडा भर्त्सना गरेका छन् । उनका अनुसार ‘जेन्जी’ नामले सम्बोधन हुने युवा पुस्तामाथि दमन गर्दा हालसम्म दर्जनौँको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । साथै सामाजिक सञ्जाल बन्द गरी जनआवाज दबाउन गरिएको कदम आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।
वक्तव्यमा दलाल पुँजीवादी सरकारको विरोध गर्ने क्रममा हत्या गरिएका नागरिकलाई तत्काल क्षतिपूर्ति दिन, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार सुनिश्चित गर्न र पक्राउ परेकाहरुलाई तुरुन्त रिहाइ गर्न माग गरिएको छ ।
महासचिव बास्तोलाले भ्रष्टाचार र बेथितिका विरुद्ध युवाले उठाएको आवाजलाई समर्थन गर्दै शिक्षा र स्वास्थ्य निशुल्क उपलब्ध गराउन, रोजगारी सिर्जना गर्न राष्ट्रिय उद्योगहरुको स्थापना गर्न, कृषिमा आधुनिकीकरण गर्न, जन्मसिद्ध जमिनमा अधिकार सुनिश्चित हुने वैज्ञानिक भू–उपयोग नीति ल्याउन र हरेक नागरिकको सामाजिक सुरक्षा व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘दलाल पुँजीवादी सत्ताबाट पछिल्लो पुस्ताका माग सम्बोधन हुन असम्भव छ । वास्तविक परिवर्तनका लागि तत्काल दलाल पुँजीवादी सत्ताको अन्त्य गरी स्वाधीन संयुक्त सरकार गठनतर्फ अघि बढ्न सम्पूर्ण जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’
यस्तो छ वक्तव्य :