१९ जना जेनजीको हत्या इतिहासकै क्रूर नरसंहार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी केन्द्र
काठमाडौं । सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रेका जेनजी पुस्ताका १९ जना युवाहरूको निर्मम हत्या पछि, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा मागेको छ।
प्रचण्ड निवास, खुमलटारमा बसेको आकस्मिक पदाधिकारी बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गर्दै भोलि बेलुका ५ बजे देशभरि ७५३ वटै पालिकामा श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गर्ने तय गरेको छ। साथै घाइतेहरूको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग तत्काल पहल गर्न माग गरिएको छ।
बैठकमा सुनाइएको थियो, “सरकारले इतिहासकै क्रूर नरसंहार गरेको छ। जेनजी पुस्ताको न्यायपूर्ण मागलाई दबाउन खोजिएको यो हिंसा अस्वीकार्य छ। प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ। हामी मृतक परिवारसँग एकदिल भएर उभिएका छौं।”
माओवादी केन्द्रले जनसमुदायसँग अपिल गरेको छ कि सबै नागरिक यो अन्यायप्रति सचेत होउन् र न्यायपूर्ण विद्रोहमा एकजुट रूपमा अघि बढुन्।