बबिताको ‘जुनकीरी हराएको रात’ प्रचण्डद्धारा विमोचन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ अल्किना वम ‘बबिता’ को पहिलो पुस्तक ‘जुनकीरी हराएको रात’ बुधबार विमोचन भएको छ । यस अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेमसंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

क्रान्तिकारी नेतृका रूपमा परिचित बबिता हाल कालिकोट जिल्ला, पचालझरना गाउँपालिकाको उपाध्यक्ष पनि हुन् । २०५६ सालमा माओवादी जनयुद्धमा भूमिगत प्रवेश गरेकी बबिता, २०५८ मा जिल्ला समिति सदस्य र २०६० मा सेति–महाकाली क्षेत्रीय ब्युरो सदस्य बनेकी थिइन् । वर्तमानमा उनी नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालय सदस्यको रूपमा कार्यरत छिन् ।

उनको पुस्तकमा जनयुद्धका चुनौतीपूर्ण अनुभव, तत्कालीन शाही सैनिक तथा हाकिमबाट भोगिएका यातना र गणतन्त्रले ल्याएको परिवर्तनको तुलना समेटिएको छ । यसले केवल व्यक्तिगत संघर्षको कथा नभई नेपालको माओवादी विद्रोह र सामाजिक परिवर्तनको जीवित दस्तावेजको रूपमा महत्व राख्दछ ।

पुस्तक विमोचनपछि बबिताले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनिन्: ‘पुस्तक केवल पुस्तक मात्र थिएन, सपना थियो। आज यही सपना ‘जुनकीरी हराएको रात’ बजारमा ल्याएर उभिएकी छु । यसको लोकार्पण प्रचण्डज्यूको हातबाट हुनु मेरो लागि ठूलो सौभाग्य हो ।’

बबिताले पुस्तकमार्फत समाजका शोषित र उत्पीडित वर्गको आवाज अझ प्रभावकारी बनाउन चाहेको पनि बताएकी छन् । विमोचन कार्यक्रममा उपस्थित अतिथिहरूले पुस्तकको ऐतिहासिक, सामाजिक र राजनीतिक महत्वको प्रशंसा गरेका थिए ।