सम्भावनाको एक ठुम्को !
केहिदिन अघि अव्यवस्थीत बिजुलीका पोलका कारण करेन्ट लागेर मेरो मुवा पदमकला चन्द बिरामी हुनु भयो । छिटै उपचारका कारण मुवालाई खतरामुक्त बनाइयो । बिजुली नपुगेको भनौँ भने असरल्ल तारहरु झुण्डीकै छन् । धन्न धन्न बिजुलीका पोलहरु उभिएकै छन् । सडक नपुगेको भनौँ भने ेकहिदिन अगाडिको भाइरल पिचले त्यआँको चित्र कोरेकै छ । यस्तै यस्तै ढंगले यहाँको बिकासेक्रम चलिरकेको छ ।
हुन त म कुनै सिद्धहस्त लेखक होइन, न त विशिष्ट विश्लेषक नै । तर पनि आफ्नै जन्मथलोको कथा–व्यथा उठाउनु मेरो जिम्मेवारी हो भन्ने लाग्छ । संसारले अन्तरिक्षमा वस्ती बसाल्ने कल्पना गरिरहेको युगमा म भने अझै आफ्नै गाउँको सडक, बिजुलीबत्ती र आधारभूत पूर्वाधारको खोजीमा भौतारिँदै छु ।
ढिमे र दम्दालाका किसान तथा युवाहरू असंख्य सम्भावना बोकेर पनि पछाडि परिरहेका छन् । अवसर नपाएर, प्रोत्साहन नपाएर उनीहरू मध्ये धेरैजना रोजगारीको खोजीमा विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, कतिपय त भारतको कालापहाडमै जिन्दगी बिताउनु पर्ने बाध्यता छ । या संघ, प्रदेश, स्थानीय कुनैपनि सरकार नागरिकप्रति जिम्मेवार छैन ।
यस भूमिमा आर्थिक समृद्धिको अद्भुत सम्भावना छ । यहाँको उर्वर भुइँले ढिमे–दम्दालाका बारीमा सुन्तला, आँप, लिची, कागती, अर्गानिक केरा, आलु मात्र होइन, सरुगाडका लोकल माछा, लेकको रयाज, गाईभैंसीको शुद्ध दूध–दही–घ्यू, गाउले मह, तोरिको तेल, काफल, निहुरो, बन लसुन, सिलपाउरी, टिमुर, ओखर र विभिन्न गेडागुडी, भटमास, सिमी, मसुरो, चना, गहत, मास, तिल, गहुँ, जौँ सजिलै उत्पादन हुन्छन् । यी उत्पादनलाई योजनाबद्ध रूपमा बजारसम्म पु¥याउन सक्ने हो भने गाउँलेलाई पेट पाल्न विदेशिनु पर्ने बाध्यता हट्छ, बरु गाउँमै पैसाको बगैंचा फलाउन सकिन्छ ।
त्यति मात्र होइन, ढिमे–दम्दालामा धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको खानी छ ।
खस मल्लहरुको बाहुल्यता रहेको यो भुमी झादेबीको पवित्र भुमी हो । ५ बर्षमा एकपटक लाग्ने यो मेलाले जिल्लाकै इतिहाँसमा ऐतिहाँसि महत्व राख्छ । महादेव, नारायण मन्दिर, आयाजरा, फूलचउली, गाईखुर, ठारखर्क, मालुमेला, ढिमेको झरना, पाँचकटिया बजार, दम्दाला सुन्तला जोन र मालुमेला सल्ली जोन जस्ता स्थललाई होमस्टे र पर्यटन केन्द्रका रूपमा विकास गर्न सकियो भने यहाँको युवाहरु बेरोजगार रहनु पर्दैनथ्यो होला । ढिमेको मिनी उपत्यका र पौराणिक गाउँले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने थियो । गाउँमै रोजगारी सिर्जना भएर, गाउँको अर्थतन्त्रमा नयाँ जीवनीशक्ति भरिन्थ्यो जस्तो लाग्छ ।
तर यथार्थ भने भिन्न छ । यी सबै सम्भावना बोकेका ठाउँलाई न त स्थानीय सरकार, न प्रदेश सरकार, न त संघीय सरकारले नै आवश्यक प्राथमिकता दिएको छ । सडक, ढल निकास, खानेपानी, सिंचाइ, पशुपालनका लागि छुट्टै गोठ—यस्ता आधारभूत सुविधा अझै अभावमै छन् । बजार व्यवस्थापनको अभावले उत्पादन भएको फलफूल र तरकारी कुहिएर फाल्नुपर्ने अवस्था छ ।
चुनाव आउँदा भोट माग्न मात्र आउने नेताहरूले जनतालाई मीठा सपना देखाएर झुक्याउने परम्परा चलिरहेकाले ढिमे र दम्दाला मात्रै नभएर समग्र कुशेकै सम्भावनाहरु अझै खेर गइरहेका छन् । रक्सी र मासुमा भोट किन्ने प्रचलनले यहाँको बिकासमा प्रभाव परेको छ ।
अब समय आएको छ—ढिमे र दम्दाला लगायत कुशेका सम्भावना पहिचान गरी योजनाबद्ध रूपमा बजार व्यवस्थापन गर्ने, पूर्वाधार निर्माण गर्ने र उत्पादनलाई विश्वस्तरमा चिनाउने । यदि सम्बन्धित निकायले जिम्मेवारीपूर्वक ध्यान दिए, ढिमे र दम्दाला लगायत कुशे भोलिको दिनमा देशकै समृद्धिको नमूना बन्न सक्छ यसका लागि जिम्मेवार तथा दुरदर्शी नेतृत्व अवको आवश्यक्ता हो । मेरो भन्नु यत्ति हो ।