बाँके–बर्दिया कर्णालीमा गाभ्ने बहस : ढकालको प्रस्तावमा चौधरीको तीखो प्रहार

बाँके । सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले प्रतिनिधि सभामा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने प्रस्ताव राखेका छन् ।

ढकालले संविधान संशोधनको बहाना बनाउँदै भने, ‘बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्ने विषयमा सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

तर ‘एमालेबाटै लुम्बिनी प्रदेश सभामा निर्वाचित सांसद तथा पूर्व मन्त्री दुर्गा प्रसाद चौधरी ‘सन्तोष’ले यो प्रस्तावमाथि तीखो आलोचना गर्दै भने, ‘उहाँले बाँके जिल्लामा यति धेरै बजेट ल्याउनुभयो कि कार्यान्वयन गर्ने ठाउँ नै बाँकी रहेन । अब अर्को चुनावमा कर्णाली पुर्ख्यौली घर भएका मतदाताको भावनामा खेल्ने असम्भव जुक्ति अपनाइरहेका छन् । फटाहाहरूको राष्ट्रिय प्रतियोगिता गर्ने हो भने प्रथम स्थान हात पार्ने क्षमता राख्ने यी मान्छेले संविधान संशोधनबाट बाँके र बर्दियालाई कर्णालीमा कसरी गाभ्ने हेर्न बाँकी छ। कर्णाली धेरै समृद्ध भइसकेको भन्दै लुम्बिनीका यी दुई जिल्ला पछाडि परेको बहाना मात्र हो ।’

यसरी, बाँके–बर्दियाको भविष्य र प्रदेश सिमाना फेरिने बहसले राजनीतिक रंग लिँदै गर्दा एउटै पार्टी र निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद ढकाल र चौधरीबीच तिक्त बहस र कटाक्ष सुरु भएको देखिन्छ ।