अमेरिकामा युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट खसे
वासिङ्टन डीसी। अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खस्ने दुर्घटना भएको छ। यो घटना फोर्ट वर्थबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिममा पर्ने गोर्डन सहरको पूर्वतर्फ घटेको हो।
यस घटनामा कोही पनि घाइते भएको छैन र कुनै क्षेत्रमा बसोबास खाली गराइएको छैन। तर, स्थानीय मिडियामा प्रसारित भिडियो तथा तस्वीरहरूमा धेरै डिब्बा एकअर्कामाथि चढेको र नजिकैको घाँसमा आगो लागेको देखिन्छ। आगोका कारण घना धुवाँ उडिरहेको पनि देखिएको छ।
पेलो पिन्टो काउन्टी इमरजेन्सी सर्भिसेज डिष्ट्रिक्टले यसलाई ‘खतरनाक अवस्था’को रूपमा लिएको छ। तर, रेलका डिब्बामा के–कस्तो सामान थियो भन्ने स्पष्ट भएको छैन। अधिकारीहरूले भने कुनै पनि डिब्बाबाट सामान चुहिएको रिपोर्ट नभएको जनाएका छन्।
युनियन प्यासिफिकका प्रवक्ता रोबिन तिस्वारका अनुसार दुर्घटना स्थानीय समयअनुसार दिउँसो २ बजे भएको हो। दुर्घटनाको कारण अझै खुल्न बाँकी छ र रेलवे तथा स्थानीय प्रशासनले संयुक्त अनुसन्धान सुरु गरेका छन्।
रेल यातायात पुनः सञ्चालन गर्न रेलका कोचहरू हटाउने र ट्र्याक मर्मतको काम चाँडै सुरु गरिने जनाइएको छ। यसैबीच, अधिकारीहरूले सर्वसाधारणलाई दुर्घटना क्षेत्रबाट टाढा रहन अनुरोध गरेका छन्।