नापी अधिकृतमाथि कालो मोसो : नेकपा (बहुमत) का चितवन सेक्रेटरी गिरफ्तार
चितवन । चितवनको खैरहनी नगरपालिका स्थित नापी कार्यालयका प्रमुख शालिकराम लम्सालमाथि गरिएको जनकारबाहीपछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का चितवन सेक्रेटरी धु्रव खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ।
मंगलबार नेकपा (बहुमत) को खैरहनी नगर कमिटीले लम्सालको कार्यकक्षमै पुगेर भ्रष्टाचारको आरोपसहित कालो मोसो लगाएको थियो। पार्टीको खैरहनी नगर कमिटीले सार्वजनिक गरेको पम्प्लेट अनुसार, लम्सालले पूर्वी चितवनका विभिन्न स्थानमा जग्गा कित्ताकाट गर्दा मोटो रकम असुल्ने, भू–माफियासँग मिलेर अवैध कित्ताकाट गर्ने, सेवाग्राहीबाट विभिन्न शीर्षकमा पैसा उठाउने, कार्यालय समय बाहिर माफियासँग बैठक गर्ने र कार्यालयका काममा ढिलासुस्ती गर्ने जस्ता कार्य गर्दै आएको आरोप छ।
उक्त घटनालाई लक्षित गर्दै खड्कालाई घरमै घेराबन्दी गरी प्रहरीले गिरफ्तार गरेको बुझिएको छ। पार्टीले यसलाई योजनाबद्ध दमन र नेतृत्वमाथिको प्रत्यक्ष आक्रमणको रूपमा व्याख्या गर्दै तत्काल रिहाइको माग गरेको छ।
यसअघि पनि उक्त पार्टीले वीरगञ्ज उच्च अदालतका न्यायाधीश खुशी प्रसाद थारुसहित २ जना न्यायाधीश, कञ्चनपुरका जिल्ला बन अधिकृत, कैलालीको एक नगरपालिकाका मेयर, कास्कीको छोरेपाटन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सिटिइभिटीका उप–निर्देशक तथा देशभरका विभिन्न जनप्रतिनिधि र कर्मचारीलाई गैरकानुनी निर्णयमा संलग्न भएको र भ्रष्टाचार गरेको आरोपमा कालो मोसो लगाएर कारबाही गरिसकेको छ।
विगतदेखि कालो मोसो अभियान सञ्चालन गर्दै आएको उक्त पार्टीले यसलाई भ्रष्टाचारविरुद्धको जनकारबाहीका रूपमा व्याख्या गर्दै आएको छ।
यस्तो छ सार्वजनिक पत्र :