क्रान्तिकारी ट्रेड युनियनको निर्माण

मजदुर वर्गको हक–अधिकारसहितको राजनीतिक मुद्दा उठाएर वि.सं. २००३ सालमा सुरु भएको नेपाली मजदुर आन्दोलनले लामो यात्रा तय गरेको छ। यस सिलसिलामा मजदुर वर्गको हक–हितका निम्ति लड्नुका अलावा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा समेत ठोस बलिदान दिँदै नेपाली मजदुर आन्दोलनले गौरवमय इतिहास निर्माण गर्न सफल भएको छ।

जुन बेला नेपालमा मजदुर आन्दोलन सुरु भएको थियो, त्यतिबेला विश्वव्यापी रूपमा एकाधिकार पुँजीवादको रजगज थियो भने नेपालमा विश्व एकाधिकार पुँजीवादको दलालका रूपमा रहेको सामन्तवादी राज्य थियो। समाज मूलतः सामन्तवादी थियो। पुँजीवादी उद्योग–व्यवसाय शैशवकालमा थिए। दोस्रो विश्वयुद्धपछि विज्ञान–प्रविधिमा भएको असाधारण विकाससँगै पुँजीवादले विज्ञान–प्रविधिलाई प्रयोग गरेर आफ्नो आधारभूत एकाधिकारी विशेषतामा परिवर्तन गर्दै भूमण्डलीकृत पुँजीवादका रूपमा उपस्थित भयो।

आज विश्वको मूल चरित्र एकाधिकार पुँजीवादी मात्र नभई भूमण्डलीकृत पुँजीवादी बनेको छ। विश्वव्यापी पुँजीपतिहरू बहुराष्ट्रिय कम्पनीमार्फत एकीकृत भएका छन्। औद्योगिक केन्द्रहरूमा संगठित मजदुरहरूलाई तीव्र रूपमा सेवा क्षेत्रमा असंगठित बनाउँदै फालिँदै छ, बेरोजगार बनाइँदै छ, र श्रम गर्ने नै नपाउने विस्थापितहरूको विशाल भिड उत्पादन गरिँदै छ। यो भूमण्डलीकृत पुँजीवादी युगले निर्माण गरेको नयाँ परिस्थिति हो।

विगत सात दशकको सामन्तवादविरोधी नेपालको राजनीतिक संघर्षले पुँजीवादी क्रान्ति सम्पन्न गर्न सकेन, तर विश्व पुँजीवादको प्रभाव र सामन्तवादविरोधी संघर्षको कारण समाज पुँजीवादी बन्न पुगेको छ। तर यसको नेतृत्व दलाल पुँजीपति वर्गले गरेको छ। हिजोका सामन्त र वैदेशिक पुँजीपतिहरू नै दलाल पुँजीपति वर्गका निर्णायक हिस्साका रूपमा उपस्थित छन्।

भूमण्डलीकृत पुँजीवादले सन् १९८० वरपरबाट नवउदारवादी आर्थिक नीतिबाट हस्तक्षेप गरेसँगै नेपालका बाँकी राष्ट्रिय पुँजीपतिहरू पनि दलाल पुँजीपति वर्गमा रुपान्तरण हुन बाध्य भए। दलाल पुँजीपति वर्ग देशभित्र उत्पादनको विरोधी बनेर केवल विदेशी उत्पादनको वितरणमार्फत नाफा बटुल्न रमाउने हुँदा नेपाल उपभोक्ता समाजमा रुपान्तरण भयो। देशभित्रको बेरोजगारीका कारण करिब पौने एक करोड नेपाली विदेशमा श्रम गर्न बाध्य छन्।

यसरी साम्राज्यवादद्वारा सिर्जना गरिएको यो डरलाग्दो परिदृश्यमा हिजोको मजदुर आन्दोलनले अपनाएको नीति र संघर्षको तरिकाबाट अब वर्गीय मुक्ति सम्भव छैन। अब नयाँ युगअनुसार नयाँ विचार, नयाँ रणनीति र कार्यक्रमसहितको मजदुर आन्दोलन आवश्यक छ।

केवल मागपूर्तिमा सीमित र आमूल राजनीतिक परिवर्तनको आन्दोलनको हिस्सा बन्ने परम्परागत ट्रेड युनियनले आजको कार्यभार पूरा गर्न सक्दैन। बरु, सुधारात्मक संघर्षको निरन्तरतासँगै मजदुर वर्गले वैज्ञानिक समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृति मिलाएर वैज्ञानिक समाजवादी व्यवस्था निर्माणको पहल अहिलेबाटै सुरु गर्नुपर्छ। यही आजको नवीन पहल हुनेछ।

श्रमिक वर्गमा न्यूनतम सामाजिक सुरक्षाको प्रत्याभूति, चर्को श्रम शोषणको अन्त्य, सेवा–सुरक्षा, वृत्ति विकास, जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक, सबै क्षेत्रमा ट्रेड युनियन अधिकार र न्यायपूर्ण श्रम कानुन निर्माणका माग आज धरापमा परेका छन्। यस्तो सुधारात्मक कामको जिम्मेवारी पूरा गर्न विचार र उद्देश्यमा दृढ संगठन आवश्यक भएको हो। किनकि संसदवादी वा अन्य ट्रेड युनियनहरूले यो जिम्मेवारी लिन नसक्ने अवस्था सिर्जना भइसकेको छ।

अवसरवाद, अराजकतावाद, अर्थवाद, ट्रेड युनियनवाद र वर्ग–समन्वयवादजस्ता गम्भीर वैचारिक चुनौतीहरू हिजोभन्दा आज अझ सशक्त रूपमा खडा भएका छन्। यी चुनौतीविरुद्ध ट्रेड युनियनको ध्येय, लक्ष्य र स्पष्ट वैचारिक दृष्टिकोणका आधारमा संघर्ष नगरी ट्रेड युनियन आन्दोलनलाई जुझारु र परिवर्तकारी बनाउनु असम्भव छ। यस्तो वैचारिक अभियानका लागि नयाँ विचार र कार्यदिशासहितको संगठन अपरिहार्य छ।

विश्व साम्राज्यवाद र पुँजीवादले पुँजीको विश्वव्यापीकरण गरेर श्रमिक वर्गमाथि शोषण गरिरहेको छ। यसको विरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रमिक–पक्षीय ट्रेड युनियन आन्दोलनलाई बलियो बनाउन जरुरी छ। त्यसका लागि साम्राज्यवादविरोधी, पुँजीवादविरोधी, प्रगतिशील र वैज्ञानिक समाजवादी विचारका पक्षधर अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्रको निर्माण आवश्यक छ। यसका निम्ति पहल थाल्न यो संगठन जन्मन बाध्य भएको हो।

आर्थिक उदारीकरण र निजीकरणका कारण श्रम क्षेत्रमा अस्थायी, करार, ‘आउटसोर्सिङ’ र ज्यालादारीमा काम गर्ने श्रमिकको संख्या बढ्दै गएको छ। उनीहरूलाई ट्रेड युनियन गतिविधिमा लाग्न हतोत्साहित गर्ने र ट्रेड युनियनको भूमिकालाई न्यूनीकरण गर्ने नीति अख्तियार गरिएको छ। त्यस्तै, उमेरैमा छिटो अवकाश दिने नीतिबाट कार्यस्थलबाट श्रमिकहरूलाई बेरोजगार बनाउने प्रवृत्ति तीव्र बनेको छ। यी पुँजीवादी प्रपञ्चसँग लड्न आजको आवश्यकता अनुसारको क्रान्तिकारी ट्रेड युनियन अपरिहार्य भएको छ।