माओवादी केन्द्रको निर्णय: विप्लवसँग वार्ता समिति गठन गरिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेकपा (विप्लव समूह) सँग पार्टी एकता गर्न वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
हालै सम्पन्न स्थायी कमिटी बैठकबाट उक्त निर्णय गरिएको हो। बैठकले एकता प्रक्रिया सहज बनाउने उद्देश्यले वार्ता समिति गठन गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको माओवादी केन्द्रका एक नेताले कुसे न्युजलाई जानकारी दिए।
उनका अनुसार, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टी एकताको सम्भावना अध्ययन गर्न र छलफल अघि बढाउन वार्ता समिति गठन गरिने सर्कुलर आएको छ।’
शुक्रबार नै केन्द्रीय कार्यालयले सबै मातहत कमिटीहरूमा पठाएको सर्कुलरमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग सहकार्य बढाउने र समान विचारधाराका अन्य पार्टीहरूसँग समेत एकताको सम्भावना खोज्ने उल्लेख गरिएको छ।
त्यस्तै, विप्लव नेतृत्वको नेकपाले पनि आगामी भदौ महिनामा बस्ने केन्द्रीय समिति बैठकमा एकताको विषयमा ठोस निर्णय लिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
वाम शक्तिहरूबीच एकताको बहस चलिरहेका बेला आएको यो निर्णयलाई विश्लेषकहरूले वाम ध्रुवीकरणको नयाँ प्रयासको संकेतका रूपमा लिएका छन् ।