मनभित्रको देश !

रातीको २ बजेको तितो निद्राबिच,
साउदीको तातो बालुवामा जीवनको खोजी लिएर
बस चढ्छु, झ्यालको सानो छिद्रबाट हेर्छु संसार।
ठूला ठूला महल, आकाश छुने बिल्डिङहरू,
लामो पुलमाथि बग्ने चकचके गाडीहरू,
एउटा नयाँ दुनिया जस्तो लाग्छ कहिलेकाहीँ ।

तपाईँका सडकहरू,
जसमा गाडीहरू त उडेजस्तै गर्छन्,
फुलहरू फक्रिएका छन् टन्टलापुर घाममा,
खजुरका रुखहरू, हरियाली छरिएको
यो मरुभूमिमा पनि मानौँ स्वर्गको छाया छ।

तर मन कहाँ शान्त छ र ?
त्यो झ्यालबाट झ्याल हुँदै‘
सिधै पुग्छ मेरो आँखा नेपालको फाँटमा।
जहाँ छ प्राकृतिक सौन्दर्यको खानी,
तर छैन राम्रा बाटा, पुलहरू त सपना बनेका छन्,
र विकास कहिल्यै पुरा नहुने वाचा जस्तो।

कसलाई दोष दिने ?
नेताहरूलाई सिस्टमलाई ? कि हामी आफैलाई ?
देश त सधै प्यारो छ,
तर व्यवस्था देख्दा मन रोएको झैँ हुन्छ।

शरीर त खाडीमा श्रम गर्दैछ,
तर आत्मा त त्यहीँ छ —
नेपालको कुनै बगर, पहाड, गाउँको बासमा।
कहिल्यै नथाक्ने सपनामा,
मेरो देश पनि एकदिन बन्छ भन्ने आशामा।

हाल साउदी रियाद