बाँकेमा मल अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई वाइसीएलको ज्ञापनपत्र
नेपालगञ्ज । रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘मध्य वर्षायाम सुरु भइसकेको छ, तर किसानहरू मल नपाएर खेत बाँझो राख्न बाध्य छन् । पटक–पटकको सरकारी आश्वासन झूटा सावित भएका छन् र यो अवस्था योजनाबद्ध रूपमा सिर्जना गरिएको आशंका छ ।’
उक्त ज्ञापनपत्रमा कालोबजारी, कमिसनको खेल र पहुँचको आधारमा मल वितरण हुनेजस्ता प्रवृत्तिको घोर भर्त्सना गरिएको छ ।
ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ, ‘रासायनिक मलको अभाव केवल किसानको समस्यामात्र होइन, यो खाद्य सुरक्षामाथिको प्रहार हो । कृषि प्रधान देशमा बारम्बार यस्तो समस्या दोहोरिनु सरकारको असक्षमता र उदासिनताको प्रमाण हो ।’
वाइसीएल बाँकेले सरकारलाई तुरुन्त सुधारात्मक कदम चाल्न चेतावनी दिँदै भनेको छ, ‘यदि देशभर मल आपूर्तिको सुनिश्चितता नभएमा वाइसीएल नेपाल देशव्यापी आन्दोलनमा जानेछ ।’
ज्ञापनपत्र बुझाउने क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष (जीत) र बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल सहित, जिल्ला सचिव विजय बर्मा, प्रदेश समिति सदस्य दिनेश थापा, जिल्ला कोषाध्यक्ष मरुफ शेष लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यस्तो छ ज्ञापनपत्र :