यसकारण दुख्यो हायू परिवारको चित्त…
सिन्धुलीेको थातथलो छाडेर पोखरा पुगेका उर्मिला हायू परिवारको अस्थायी बसाई र श्रमसँग सम्बन्धित स्वेच्छिक निर्णयलाई भत्तासँग जोडेर टिकाटिप्पणी गरिएकोमा हायू समाजले आपत्ति जनाएको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको हचुवा र आधारहीन प्रचारले उक्त परिवारलाई मात्र हैरानी नभएर समग्र हायू समुदायको भावना र सम्मानमाथि प्रहार भएको प्रतिक्रिया जनाइएको छ ।
‘परिवारको अस्थायी बसाई र श्रमसँग सम्बन्धित उनीहरुको स्वेच्छिक निर्णयलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर आग्रह पूर्वाग्रहपूर्ण गलत टिप्पणीप्रति हामी गहिरो खेद प्रकट गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो आधारविहीन र हचुवा प्रचारप्रसारले केबल यो परिवारजनलाई हैरानी मात्र होइन, समग्र समुदायको भावना र सम्मानमाथि प्रहार भएको अनुभूति हामीले गरेका छौं ।’
हायू समुदाय आफ्नो श्रम, इमानदारिता र आत्मसम्मानमा जीवनयापन गरिआएको आदिबासी समुदाय रहेको जनाउँदै समाजले थपेको छ, ‘यस्तो आग्रह पूर्वाग्रहपूर्ण गलत टिप्पणी सर्वथा असभ्य, अशिष्ट र विकृत मानसिकताको उपजबाहेक अरु केही हैन ।’
समाजमा श्रम र अफवाह फैलाएर आफ्नो दुनो सोभ्याउने गतिविधिबाट सतर्क रहन समाजले सम्पूर्ण हायू समुदायलाई आग्रह गरेको छ । साथै, उर्मिला हायू परिवारको पुनः स्थापना र व्यवस्थापनका लागि तीनवटै तहका सरकारसँग माग गरिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाका उर्मिला हायू परिवार गत शुक्रबारदेखि एकाएक सम्पर्कविहीन भएको खबर हिजो बिहानदेखि बाहियरियो । गाउँलेलाई खबर नगरी, घर र गाईवस्तुको बिजोग बनाएर बेपत्ता उनीहरु राति पोखरामा फेला परेका थिए ।
परिवारका सदस्यहरु बेलाबेलामा बिरामी भइरहने समस्या समाधानका लागि धामीले त्यहाँ नबस्न भनेपछि आफूहरु पोखरा आएको उनीहरुको भनाइ छ ।