सिटिइभिटीका सदस्य सचिवलाई कार्यकक्षमा प्रवेश निषेध

काठमाडौं । प्राविधिक शिक्षा प्रणालीमा व्यापक बेथिति, विद्यार्थीविरोधी निर्णयहरू र संस्थागत भ्रष्टाचारका विरुद्ध संघर्षरत अखिल (क्रान्तिकारी) बहुमतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) का सदस्य सचिवलाई अनिश्चितकालका लागि कार्यकक्ष प्रवेश निषेध गर्ने निर्णय सार्वजनिक गरेको छ ।

संगठनका सिटिइभिटी-विश्वविद्यालय विशेष प्रदेश संयोजक पारस राहादी मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिटिइभिटीको सम्पूर्ण प्रणालीको आमूल रूपान्तरण, समयसापेक्ष वैज्ञानिकरण र विद्यार्थीमैत्री बनाउने हाम्रो अभियानलाई परिषद्का जिम्मेवार पदाधिकारीले बारम्बार बेवास्ता गरेका छन् ।”

विशेषगरी जिरी बहुप्राविधिक शिक्षालयमा विद्यार्थीहरूलाई प्रयोगात्मक परीक्षामा प्रशिक्षक र संस्थाको लापरवाहीका कारण अनुचित रूपमा फेल गराइएको र त्यसको न्यायिक समाधानको सट्टा पुनः परीक्षा सञ्चालन गरेर ढाकछोप गर्न खोजिएकोप्रति संगठनले गम्भीर आपत्ति जनाएको छ । उक्त घटनालाई “विद्यार्थीविरोधी कदम” को संज्ञा दिँदै संगठनले यस्तो निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

यसबाहेक, साझेदारी तथा प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूलाई सम्बन्धन बिना नै भर्ना अनुमति दिइ कक्षा सञ्चालन गराउने, र त्यहाँ अध्ययनरत विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पर्ने गैरकानुनी निर्णयको जिम्मेवारी सदस्य सचिव आफैंले लिनुपर्ने संगठनको ठहर छ ।

“विद्यार्थीविरोधी, अवैधानिक र स्वेच्छाचारी प्रवृत्तिको पराकाष्ठा प्रकट गरेका कारण सदस्य सचिवलाई अनिश्चितकालीन रूपमा कार्यकक्ष प्रवेश निषेध गरिएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “अबदेखि कुनै पनि निर्णय प्रक्रियामा उहाँलाई मान्यता दिइने छैन ।”

संगठनले विद्यार्थीहरूको हक, अधिकार र भविष्यको सुरक्षार्थ संघर्ष अझ व्यापक बनाउने चेतावनी पनि दिएको छ ।

यस्तो छ प्रवेश निशेधको कारण :