हनी ट्रयापमा पारेर ठगी गर्ने महिला पक्राउ

सुर्खेत, हनी ट्रयापमा पारेर धम्की दिँदै ठूलो रकम असुलेको आरोपमा सुर्खेतमा एक महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेख नौमुले गाउँपालिका–८ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरिएको हो।

गत २०८१ साल भदौ महिनामा शिन्दु चन्दले मनोज कोईरालालाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा बोलाई चिनजानको निहुँमा सहमतिमै शारीरिक सम्बन्ध बनाएकी थिइन्। तर त्यसपछि उनले जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएकी थिइन्।

साथै नाङ्गो फोटो सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक गरिदिने भन्दै उनले पीडितसँग पटक–पटक गरी करिब १४ लाख २५ हजार रुपैयाँ असुलेको प्रहरीले जनाएको छ।

जाहेरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।