बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ

गुलरिया, बर्दिया राष्ट्रिय निकुञ्जको आकर्षण पाटेबाघ बनेको छ । पछिल्लो समय पाटेबाघको संख्या बढ्दा निकुञ्जको आकर्षण बढेको हो । बाघको सङ्ख्या १२५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा १२८ पाटेबाघ रहेको बताइएको छ ।

जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।

वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको स्थानीय रामजी थापाले बताए । गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको थियो ।

र्दिया राष्ट्रिय निकुञ्ज नेपालको तराई क्षेत्रको सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्जलाई पछि बर्दिया वन्यजन्तु आरक्ष बनाइएको थियो । २०४५ साल मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा गरिएको हो ।

बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही भागसमेत समेटेको यो निकुञ्जको क्षेत्रफल ९६८ वर्गकिलोमिटर रहेको छ भने मध्यवर्ती क्षेत्र ५०७ वर्गकिलोमिटर छ । स्थानीय जनतालाई नियमित रूपले वन पैदावार उपभोग गर्न पाउने सहुलियत प्रदान गर्न २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा भएको थियो ।

निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जङ्गल छन् । तराईको धेरै जसो भाग सालको जङ्गलले ढाकेको छ भने बिचमा घाँसे मैदान रहेको छ । पाटेबाघ र यसका आहारा प्रजातिको वासस्थान संरक्षण गर्ने उद्देश्यले यस निकुञ्जको स्थापना गरिएको हो । यस निकुञ्जमा बाघ, हात्ती, एकसिङे गैँडालगायत ६१ भन्दा बढी स्तनधारी प्रजाति ९१० वटा संरक्षित०, ५१३ भन्दा बढी प्रजातिका चरा, ४२ भन्दा बढी प्रजातिका घस्रने वन्यजन्तु र १२० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । निकुञ्ज अन्तर्गत हालसम्म तीन वटा सेक्टर, आठ वटा रेन्जपोस्ट र २४ वटा पोस्टबाट जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सार्वजनिक सेवासम्बन्धी कार्य हुँदै आएका छन् ।

नेपालको दोस्रो ठुलो सङ्ख्यामा प्रभावकारी रूपमा बाघ संरक्षण भएको यो निकुञ्जले २०२२ मा बाघ दोब्बर बनाउन सफल भएबापत टिएक्सटु पुरस्कारबाट सम्मानित भएको थियो ।

तस्विर : रामजी थापा बर्दिया