अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगर सहित १० जना पक्राउ

काठमाडौं । शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग राख्दै सोमबार देशभर विद्यार्थी प्रदर्शन आह्वान गरेको थियो। सोही क्रममा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई पक्राउ गरेको हो ।

गिरफ्तारमा पर्ने नेताहरूमा उपाध्यक्ष बुढामगर सहित सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर सिंह नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जु राई, र कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाल रहेका छन् ।

प्रहरीको यो हस्तक्षेपप्रति संगठनले कडा आपत्ति जनाएको छ । अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाहले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘दमन गरेर क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई थुन्न सकिन्न ।’ उनले स्पष्ट पारेका छन् कि निशुल्क, समान र वैज्ञानिक शिक्षाका लागि आवश्यक परे आन्दोलनलाई अझ तीव्र बनाइनेछ ।

राज्यले माइतीघरमा मात्र होइन, काठमाडौंका अन्य क्षेत्रहरूमा पनि प्रदर्शन रोक्न खोजे पनि अधिकांश ठाउँमा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको संगठनको दाबी छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो माग शिक्षा बेच्नेलाई संरक्षण गर्ने होइन, शिक्षालाई सबैका लागि समान र पहुँचयोग्य बनाउने हो। यदि गिरफ्तार गरिएको नेताहरूलाई स-सम्मान रिहा नगरिए, सरकारले त्यसको चर्को मूल्य चुकाउनु पर्नेछ ।’