सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको ‘आलटाल’ अस्वीकार्य : अखिल (क्रान्तिकारी)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सीटीईभीटी अन्तर्गत स्वास्थ्य कार्यक्रमतर्फको छात्रवृत्ति, नयाँ भर्ना प्रक्रिया रोकिएकोप्रति आपत्ति जनाउँदै तुरुन्त आवेदन फारम खोल्न माग गरेको छ। संगठनले सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच कोटा निर्धारणको विषयमा भइरहेको ‘आलटाल’ र जिम्मेवारी पन्छ्याउने प्रवृत्तिलाई गम्भीर रूपमा लिएको जनाएको छ।
संगठनको विश्वविद्यालय–सीटीईभीटी विशेष प्रदेश समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – “छात्रवृत्ति र नयाँ भर्नाको सन्दर्भमा स्वास्थ्यबाहेकका कार्यक्रमका लागि मात्र आवेदन फारम खोल्नु र स्वास्थ्यतर्फको भर्ना रोख्नु शंकास्पद छ। सम्बन्धनको चलखेल, निजी शिक्षालयको दबाब र संस्थागत स्वार्थका कारण विद्यार्थीको भविष्यको बलि चढाउने प्रयास भइरहेको छ।”
संगठनले यस शैक्षिक सत्रदेखि लागू हुने प्रवेश परीक्षा विनाको नीतिलाई सैद्धान्तिक समर्थन जनाए पनि, उक्त निर्देशिका अझ वैज्ञानिक, पारदर्शी र विद्यार्थीमैत्री हुनुपर्ने माग राखेको छ।
सीटीईभीटी तथा चिकित्सा शिक्षा आयोगका जिम्मेवार निकायहरू एक–अर्कालाई दोष थोपर्ने शैलीमा संवाद गरिरहेको भन्दै, संगठनले विद्यार्थीलाई अन्योलमा राख्ने कार्य तुरुन्त बन्द गर्न चेतावनी दिएको छ।
“यदि स्वास्थ्य कार्यक्रमतर्फको भर्ना प्रक्रिया तत्काल अघि नबढाइए, हाम्रो संगठन कडा आन्दोलनमा उत्रिनेछ,” विज्ञप्तिमा स्पष्ट चेतावनी दिइएको छ।
संगठनका अनुसार, अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षामा दीर्घकालीन आमूल परिवर्तन, तत्कालीन नीतिगत सुधार र संस्थागत बेथिति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आक्रामक संघर्ष गर्दै आएको छ।
यसै क्रममा, केही समयअघि सीटीईभीटीका तत्कालीन उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेर जनकारबाही गरिएको थियो। साथै, नक्कली प्रमाणपत्र बनाएर लाखौँमा बिक्री गर्ने र सरकारी कागज किर्ते गरेर भ्रष्टाचारमा संलग्न भएको आरोपमा परिषद्का उपनिर्देशक गोविन्द पौडेलमाथि पनि कालोमोसो दलेर कारबाही गरिएको बताइएको थोयो ।
यस्तो छ वक्तव्य :