डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि अज्ञात समुहद्धारा कुटपिट

खलंगा, डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख डिएफओ अमर प्रसाद साहमाथि अज्ञात समुुहद्धारा उनकै कार्यकक्षमा कुटपिट भएको छ । आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार, तीन–चार जनाको सङ्ख्यामा आएको समूहले साहमाथि हातपात गरेको थियो ।

आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएका थिए र घटना लगत्तै फरार भएका थिए ।‘करिब ४ बजेतिर डिभिजन वन कार्यालयमा, डिएफओ साहबकै कार्यकक्षमा अज्ञात व्यक्तिहरूको समूह आएर हातपात गरी फरार भएको भन्ने सूचना आएको छ,’ सूचना अधिकारी विश्वकर्माले भने ।

घटनाको खबर पाउनासाथ प्रहरीले आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारेको छ । उनले भने, ‘हामीले व्यापक रूपमा खोजी गरिरहेका छौँ । सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी गस्ती बढाइएको छ ।’

कुटपिटको कारण भने हालसम्म खुलेको छैन । यद्यपि उनीहरुले भ्रष्टाचारी भन्दै दुर्व्यवहार गरेको बताइएको छ । केही समयअघि साहले आफ्नै कार्यकक्षमा मदिरा पाटी गरेको कुरा बाहिर आएको थियो ।