शिक्षा ऐन रोकिनुमा व्यापारीहरूको चलखेल : अखिल (क्रान्तिकारी)
काठमाडौं । सरकारद्वारा शिक्षा ऐन जारी नगरेकोमा आपत्ति जनाउँदै नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले २०८२ श्रावण २ गते देशव्यापी आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ।
बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत संगठनले व्यापारीहरूको दबाबमा परी शिक्षा ऐन रोकिएको आरोप समेत लगाएको छ।
कार्यक्रममा संगठनका अध्यक्ष बिरेन्द्र शाह ले सत्तारूढ एमाले र कांग्रेसको गठबन्धनले आफ्ना निकटका मान्छेहरूको चाहना अनुसार शिक्षा ऐन अड्काएको आरोप लगाए। उनले भने, “संघीयता आएको लामो समय बितिसक्दा पनि शैक्षिक क्षेत्र अझै पुरानै ढाँचामा चलिरहेको छ। यो शुद्ध रूपमा व्यापारी सोचको नतिजा हो। बिचौलिया र शैक्षिक माफियाहरूको चलखेलमा वर्तमान ओली सरकार शिक्षालाई गरिब जनताको पहुँचबाट झनै टाढा लैजाँदैछ।”
अध्यक्ष शाहले चेतावनी दिँदै थपे, “यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षा प्रणाली लागू गर्ने गरी ऐन नआएमा शैक्षिक दलालका व्यापारिक महलमा आगो दन्काउन पछि पर्ने छैनौं।”
कार्यक्रममा संगठनका महासचिव उषाकिरण आजाद ले आउन लागेको शिक्षा ऐनले संविधानको मर्म र भावना विपरीत निजीकरण र व्यापारीकरणलाई वैधता दिने प्रयास गरिएको आरोप लगाए। उनले भने, “शिक्षा ऐनमा स्पष्ट रूपमा ठूला नेता र सरकारी कर्मचारीका सन्तानले निजी विद्यालयमा अध्ययन गर्न नपाउने व्यवस्था राखिनुपर्छ, अन्यथा सार्वजनिक शिक्षाको ध्वंस हुन्छ।”
पत्रकार सम्मेलनमा संगठनका उपाध्यक्ष रुपा बुढा मगर, सचिवहरू गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियार लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
यस्तो छ वक्तव्य :