भूकम्पपछिको पुनर्निर्माणमा विभेद : पीडित अझै टहरामै – नेकपा (बहुमत)
जाजरकोट । २०७८ सालको कार्तिक १७ गते राति ११:४७ बजे केन्द्रविन्दु रामिडाँडा, बारेकोट भएर गएको विनाशकारी भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षति पु¥याएको दुई वर्ष पुग्न लाग्दा पनि, पुनर्निर्माण प्रक्रिया विभेदकारी र सुस्त देखिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आपत्ति जनाएको छ।
नेकपा (बहुमत) जाजरकोटले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “राज्यले पुनर्निर्माणको प्रक्रियामा वैज्ञानिक, वस्तुगत र पीडितमुखी नीति अवलम्बन नगरी, पहुँच र सञ्जालको आधारमा ढुंगा-माटाका कच्ची घरहरू पुनर्निर्माणको सूचीबाट नै हटाएर वर्गीय विभेद गरेको छ।”
विज्ञप्ति अनुसार, जाजरकोटका हजारौं भूकम्पपीडितहरू अझै अस्थायी टहरामै बर्खायामको चिसो, पानी र रोगको सास्ती भोग्दै जीवन बिताउन बाध्य छन्।
पार्टीका इन्चार्ज महेश र सेक्रेटरी हिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्रको आगमनपछि जनताले सहज जीवन पाउने आशा गरेका थिए, तर जाजरकोटका जनताले अझ बढी अपमानजनक बेवास्ता भोगिरहेका छन्।”
नेकपा (बहुमत) ले राज्य र सरोकारवाला निकायहरूलाई यो विभेदकारी र परम्परावादी नीति तत्काल खारेज गर्न चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जाजरकोटी जनताको आवश्यकता र वास्तविकताको आधारमा पुनर्निर्माण प्रक्रिया अघि नबढाए उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्थानीय सरकार र प्रशासनले लिनुपर्नेछ।”
पार्टीले पुनर्निर्माणको नाममा भइरहेको पक्षपाती कार्यशैलीको जनस्तरबाट प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याएको छ। विज्ञप्तिमा पुनर्निर्माण कार्यलाई वैज्ञानिक, समान र सर्वसुलभ बनाउने माग गर्दै शासकीय उदासीनता र भ्रष्ट्र सञ्जालको पर्दाफास गर्ने संघर्ष अझ तीव्र बनाइने उल्लेख गरिएको छ।