आज साँझदेखि कर्णाली, सुदुरपश्चिम र लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ नजिकिँदै गरेकाले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाड़ी भूभाग, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा धेरै ठूलो पानी पर्ने अनुमान गरेको छ ।

बङ्गालको खाड़ी तथा अरबको सागरबाट आउने पानी पार्ने हावाका साथै त्यस क्षेत्रमा न्यूनचापीय प्रणालीको प्रभावका कारण आज साँझदेखि पर्सि बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो।

अन्य प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी किनार वा बाढी, पहिरो र डुबानको जोखिममा रहेका नागरिकले उच्च सावधानी अपनाउनुपर्ने महाशाखाले भनेको छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सीहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साल नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, पर्यटन क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।