डोल्पा पहिरो : ५५ घर र एक विद्यालयमा क्षति

 काठमाडौं । डोल्पामा पहिरोले ५५ घरधुरीमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काईके गाउँपालिका(४ रिवा गाउँमा पहिरो खसेको हो ।

गाउँ भन्दा करिब ५०० मिटर माथिबाट लेदो सहित खसेको पहिरोले तीन वटा घर पूर्णरूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।

पहिरोबाट करिब १ करोड ७३ लाख मूल्य बराबरको धनमाल क्षति भएको उनले बताए ।

पहिरोले काईके गाउँपालिका-४ का २१ वर्षीय मनराज बिक, ३२ वर्षीय सुरेन्द्र बिक र ५० वर्षीय धनलाल बिकको घर पूर्ण रूपमा क्षति पुगेको उनले बताए । प्रारम्भिक अनुसन्धान अनुसार तीनैजनाको घरमा पूर्णक्षति पुग्दा करिब ३६ लाख मूल्य बराबरको क्षति पुगेको उनले बताए ।

आंशिक रूपमा १२ वटा घरहरूमा क्षति पुग्दा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने सामान्य रूपमा ४० वटा घरमा क्षति पुग्दा करिब ९८ लाख रुपैयाँ बराबरको क्षति पुगेको उनले बताए ।

यसैगरी पहिरोले एक विद्यालयमा समेत क्षति पुर्‍याएको छ । पहिरोले रिवा गाउँस्थित पुथा आधारभूत विद्यालय भवन पूर्ण रूपमा क्षति पुगेको उनले बताए ।

उनका अनुसार पहिरोले विद्यालयमा रहेका कम्प्युटर, फोटोकपी मेसिन, सीसीटीभी लगायतमा पनि क्षति पुगेको छ । पहिरोबाट विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।

बुढामगरका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खटिएको उनले बताए ।

बाढीले त्रिपुरामा पनि क्षति

यसैगरी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-३ भित्तीस्थित खोर खोलामा आएको बाढीले तटबन्द निमार्णका लागि राखिएका ८५ थान जाली बगाएर लगेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका-३ का लालबहादुर दमाइ, शुद्व दमाइ र जयकुमार कठायतको घरमा बाढी पसेर क्षति पुगेको छ ।

बाढीले कर्णवीर बोहरा, झक्कु दमाई, बिष्णु बोहरा,फुक्कु दमाई तरकारी बाली तथा खेतमा क्षति पुर्‍याएको छ । यसैगरि वडा नम्बर २ मधुस्थित बाघबहादुर बुढा लगायत १२ घरधुरीको करिब ५र६ रोपनी जमिनमा क्षति पुर्‍याएको छ ।