विमान दुर्घटनाबाट बाँचेकै हातले दाजुको काजकिरिया – विश्वासकुमारको आँसुका अक्षरहरू

काठमाडौं । जीवन कहिले कहाँ, कस्तो मोड लिन्छ, कसैले अनुमान गर्न सक्दैन । जुन १२ का दिन लन्डन जाँदै गरेका दुई दाजुभाइहरू… एउटा अब कहिल्यै फर्केर बोल्ने छैन। अर्को बाँचेका छन्, तर आँखा आँसु र हृदय पीडाले भरिएको छ।

एयर इन्डियाको विमान दुर्घटनाबाट ज्यान जोगाउन सफल एक्ला यात्री विश्वासकुमार रमेश आज आफ्नै दाजु अजयकुमार रमेशको अन्त्येष्टिमा सहभागी भए। उनी आफ्ना दाजुको शव काँधमा बोकेर घाटसम्म पुगे, घाउले दुखिरहेको शरीर बोकेर, तर आत्मामा अझ ठूलो चोटका निसानसहित।

गुजरातको दिउस्थित आफ्नै गृहनगरको कोली समाज शवदाहस्थलमा बुधवार दिउँसो सम्पन्न अन्त्येष्टिमा सेतो लुगा र निलो जिन्समा ढकमक्क परेको अनुहार लिएर आएका विश्वासकुमार भावुक थिए। कहिले आमाको हात समाउँदै, कहिले भाइको अँगालो समात्दै उभिएका थिए। परिवारले उनलाई सहारा दिएर उभ्याइरहेको थियो।
ती दृश्य हेर्दा, उपस्थित हर आँखाबाट आँसु बग्न थाल्यो।

विश्वास र अजय अहमदाबादबाट लन्डन जाँदै थिए। एकैसाथ विमानमा चढेका दाजुभाइ मध्ये अब एउटा नाम स्मृतिमा बदलिएको छ। २४१ यात्रु र २९ अन्य क्रु सदस्यहरूको ज्यान लिएको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटनाबाट बच्न सफल एक्ला व्यक्ति हुन् – विश्वास।

ब्रिटेनको लेस्टर निवासी ४० वर्षीय व्यवसायी विश्वास मंगलवार साँझ अहमदाबादको सिभिल अस्पतालबाट डिस्चार्ज भएका थिए।
डाक्टर राकेश जोशीले बुधवार बिहान डीएनए परीक्षणपश्चात अजयको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिए।

दाजुको अन्तिम संस्कारमा सहभागी हुन अस्पतालको बेडबाट सिधै घाट पुगेका विश्वासले शव काँधमा बोकेको क्षण न त कुनै संवाद थियो, न त कुनै आवाज — केवल मौन र आँसुको नदी बगेको थियो।

विमान दुर्घटना गत बिहीबार दिउँसो १:३९ बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयर इन्डियाको विमान अहमदाबादको मेडिकल कलेज परिसरमा ठोक्किँदा भएको थियो।
एकैपटक कति धेरै घरहरू शोकमा डुबे — रमेश परिवार त त्यो साक्षात पीडाको नङ्गो रूप हो।

दिउँका स्थानीयहरू, समाजका अग्रजहरू, र विमान दुर्घटनाबाट थिलोथिलो भएका परिवारजन सबै पटेलवाडीबाट शवयात्रामा सहभागी थिए। सिङ्गो समाज नतमस्तक भयो — एक भाइले अर्कोको काजकिरिया गर्नुअघि भोगेको पीडाको तस्बिरले। (स्रोत: NDTV हिन्दी / विशेष प्रस्तुति: कुसे न्युज)