क्रान्तिको नयाँ मोर्चा : विप्लव छाडेर बहुमतमा गोलबन्द

काठमाडौं । नेकपा विप्लव नेतृत्वमा सक्रिय दर्जनभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा गोलबन्द भएका छन्। ‘उत्पादन क्रान्ति’ र ‘निर्वाचनमार्फत परिवर्तन’को नारा अब जनतामाथिको धोका मात्र भएको उनीहरूको ठहर छ।

केन्द्रीय प्रतिनिधि सदस्य किरण घिमिरेसहितका नेताहरूले सोमबार सामूहिक रूपमा विप्लव नेतृत्वको पार्टी त्याग गर्दै बहुमत रोजेका हुन्।
सिन्धुपाल्चोक जिल्लाबाट एकैपटक जिल्ला सचिवालय सदस्य नारायण, नेपाल, जितेन गुरूङ, दीपक भट्टराई, नवराज रोका, जिल्ला सदस्यहरू धनबहादुर तामाङ, हिरा नेपाली, हिरा घिमिरे, निरबहादुर तामाङ, भूपाल तामाङ, दमाईसिंह तामाङ, शिव दनुवार, समीर चौलागाईं, अमर तामाङ र प्रदीपलगायत बहुमत पार्टीमा प्रवेश गरेका छन्।

यसैगरी, माणिक लामा नेतृत्वको नेकपा (एकीकृत माओवादी) का केन्द्रीय सदस्य त्रिपाल तामाङ, केन्द्रीय सल्लाहकार समिति सदस्य सोनाम तामाङ लगायतका नेताहरूले पनि पार्टी परित्याग गर्दै बहुमत रोजेका छन्।
सामाजिक क्षेत्रमा सक्रिय जीवि बज्र लामा पनि नेकपा (बहुमत) मा प्रवेश गरेका छन्।

सामूहिक रुपमा जारी गरिएको वक्तव्यमा उनीहरूले भनेका छन्, “नेपाली सर्वहारा क्रान्तिको आधारभूत कार्यभार अझै बाँकी नै छ। त्यसलाई उत्पादन क्रान्ति वा चुनावी झोसा झिकेर सम्पन्न गर्ने भनाइहरू जनतामाथिको षड्यन्त्र र क्रान्तिप्रतिको धोका हुन्।”

वक्तव्यमा वर्तमान संसदीय व्यवस्था विदेशी साम्राज्यवादका दलालहरूको कब्जामा रहेको बताउँदै त्यसको विकल्प वैज्ञानिक समाजवादी सत्ता स्थापना मात्र रहेको निष्कर्ष व्यक्त गरिएको छ।

उनीहरूले बहुमत पार्टीको वैज्ञानिक समाजवाद र ‘जनसंघर्ष हुँदै जनविद्रोह’को नीति, तथा ‘स्वाधीन संयुक्त सरकार’को राजनीतिक प्रस्तावलाई आजको यथार्थ राजनीतिक विकल्पको रूपमा स्वीकारेको उल्लेख गरेका छन्।

“राजसंस्थाको नाममा उछालिएको पश्चगामी षड्यन्त्र र संसदीय लोकतन्त्रको नाममा सञ्चालित संस्थागत भ्रष्टाचार अब जनताले अस्वीकार गरिसकेका छन्,” वक्तव्यमा भनिएको छ ।