भरतपुर महानगरपालिका बिकासको नयाँ मोडेल देखाउन चाहान्छ : प्रमुख दाहाल

भरतपुर महानगरपालिका पछिल्लो समय बिकास र सुशासनका हिसाबले देशकै उत्कृष्ट महानगर हो । देशभरका महानगरमध्ये लगातार सर्वोत्कृष्ट बन्दै दाहाल नेतृत्वको भरतपुर महानगर विकासको गतिमा लम्किरहेको छ । सफल नेतृत्वकै कारण उनी बेलायतको संसद भवन ‘हाउस अफ कमन्स’मा उनी ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानितसमेत भइसकेकी छन् । भरतपुर महानगरपालिको पछिल्लो बिकासे मोडलका बारेमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालसंग जाजरकोट छेडागाड नगरपालिका निवर्तमान बाल सञ्जालका अध्यक्ष हेमराज उपाध्यय दाहालले समग्र बालबालिकाको अवस्था र भरतपुर महानगरपालिकाको बारेमा नगरप्रमुख रेनु दाहालसंग गरेको कुराकानी हामीले प्रकाशन गरेका छौँ । हेमराजले महानगर र बालबालिकाको बारेमा छोटो कुराकानी गरेका छन् । हेरौँ जस्ताको तस्तै छोटो कुराकानी  :

१.डिजिटल सिकाई अहिलेको आवश्यकता हो। भरतपुरले यसलाई कसरी विस्तार गर्दैछ ?

अहिलेको समय डिजिटलाईजेसनको हो। हरेक क्षेत्र डिजिटल हुन आवश्यक छ । अझ शिक्षा क्षेत्र डिजिटल भए मात्र गुणस्तरीय नतिजा आउन सक्छ । विषेश गरी भरतपुर महानगरपालिकाले विद्यालयहरुमा आईसिटी सुविधा र विस्तार गरेको छ । स्मार्ट कक्षा कोठा, सूचना प्रविधिको प्रयोगद्वारा शिक्षण, शिक्षकहरुलाई डिजिटल तालिम दिदै आईरहेको छ ।

२. आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई तपाईको पालिकाले कसरी सहयोग गर्दैछ ?

भरतपुर महानगरले विद्यार्थीहरुलाई विद्यालयसम्म आउने वातावरण निर्माणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। सामुदायिक र संस्थागत विद्यालयमा छात्रावृत्ति, न्यानो कपडा, छात्राहरुलाई साईकल वितरण, आन्तरिक कक्षा सञ्चालन, राष्ट्रिय मावि चौकीमा छात्राबासको निशुल्क व्यवस्था गरिएको छ ।

३. निजी र सरकारी विद्यालयबीचको गुणस्तर अन्तर घटाउन के योजना ल्याउनु भएको छ ?

निजी र सरकारी विद्यालयबीचको गुणस्तर अन्तर घटाउन परीक्षा प्रणालीमा सुधार, शैक्षिक क्यालेण्डरमा क्रमशः एक रुपता, सामुदायिक विद्यालयमा सुधारको प्रयास, शिक्षकलाई प्रोत्सहान, पुरस्कार तथा सम्मान र संस्थागत विद्यालयको नियमन तथा अनुगमनलाई जोड दिईएको छ ।

५. स्वास्थ्य क्षेत्रमा कुनै अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य भइरहेको छ ?

छैन ।

६. एक महिला नेतृको रुपमा तपाईले प्रमुख चुनौती के अनुभव गर्नुभयो ?

महिला भएकै कारण कुनै पनि त्यस्तो चुनौती व्यहोर्नु परेको छैन ।

७. संघीय, प्रदेश र स्थानीय सरकारबीच कसरी समन्वय मिलाउनु भएको छ ?

भरतपुरमा भएका विकास सबै संघ, प्रदेशसँगको सहकार्यबाटै सम्भव भएको हो । भरतपुर महानगरपालिकामा रहेका ठुला गौरवका योजनाहरु संघ तथा प्रदेशकै समन्यमा भएका छन् । यसका लागि निरन्तर पहलकदम लिनु पर्छ । नेतृत्वदायी भूमिका लिएर सबै पटा पक्षसँग सहकार्य गरेर मात्र बजेट ल्याउन सकिन्छ ।

८. तपाईको कार्यकालमा भरतपुरको प्रमुख उपलब्धी के हो भन्ने लाग्छ ?

भौतिक पूर्वाधारमा महानगरपालिकाले उल्लेखिय काम गरेको मलाई अनुभूति हुन्छ । महानगरपालिकाले अहिले २९ वटा वडामा सडक सञ्जाल विस्तारको काम गरेको छ । यो ८ वर्षको अवधिमा करिब १ हजार किमी कालोपत्रे सडक निर्माण भइसकेका छन् ।

महानगरमा ५ अर्बको नारायणी तटबन्धको परियोजना अघि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पुलोचोक, गोन्द्राङ ६ लेन सडक, बाईपास रोड सडक, भरतपुर विमानस्थल विस्तार, आधुनिक टर्मिनल भवन निर्माण, भरतपुरका मूख्य सडकमा स्मार्ट लाईट, महानगरीय रिङरोड, लिङ्क रोड, महानगरीय प्रशासकीय भवन, पुङ्गी खोला र केरुङ्ग ड्रेनको सौन्दर्यकरण, नारायणी नदी किनारलाई सि बिच मोडलको रुपमा विकास, सबैको घर(घरमा शुद्ध खानेपानी, पर्यटकीय पूर्वाधार निर्माण, विद्युतको तार भूमिगत प्रणालीबाट विस्तार, ३ हजार जना अट्‌ने सिटी हललगायतका सयौं योजनाहरु रहेका छन् । यस्तै एक वडा एक खेल मैदान, सबै वडा कार्यालय भवन निर्माण तथा विस्तार, एक वडा एक स्वास्थ्य केन्द्र लगायतका छन् ।

४. मानसिक स्वास्थ्यमा पनि चासो बढदैछ । तपाईले पहल चाल्नु भएको छ ?

मानसिक स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्न स्वास्थ्यकर्मीलाई मनोपरामर्श तालिम, सबै स्वास्थ्य संस्थामा मनोपरामर्श सम्बन्धी सेवा सुरु, मानसिक स्वास्थ्यका आधारमा निःशुल्क औषधि उपलब्ध, महानगर र विभिन्न संघ संस्थासँग सहकार्य, हरेक वर्ष मानसिक स्वास्थ्य सचेतना तथा मानसिक रोगीको पहिचान गरी उपचारका लागि ठुला स्वास्थ्य संस्थामा रिफर गर्ने गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल संग बाल सञ्जालका अध्यक्ष हेमराज उपाध्यय दाहाल