काठमाडौंमा वसवराजसहित क्रान्तिकारीहरूको हत्या विरुद्ध विरोध गोष्ठी सम्पन्न

काठमाडौं । भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कामरेड वसवराज (नम्बाला केशव राव) सहितका क्रान्तिकारी नेताहरूको राज्यद्वारा नियोजित नृशंस हत्या विरुद्ध काठमाडौंमा विरोध गोष्ठी सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा भएको यस विरोध कार्यक्रममा विभिन्न क्रान्तिकारी दल, बुद्धिजीवी, अधिवक्ता तथा लेखकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख वक्ताहरूमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुति, भारतका वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी कालिन गोन्साल्वेस, बामपन्थी चिन्तक महादीप पोखरेल, तथा लेखक कैलाश राई रहेका थिए ।

वक्ताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको फासिवादी सरकारले जनयुद्धका नेताहरूको योजनाबद्ध रूपमा हत्या गरी भारतीय जनक्रान्तिमाथि अन्धाधुन्द दमन गरिरहेको बताएका थिए। महासचिव वसवराज, मणिपुर राज्य कमिटीका सचिव आलोक, तेलङ्गाना कमिटीका सचिव संजय, महिला नेतृत्वकी अगुवा श्रीजा लगायत शीर्ष नेताहरूको हत्या ‘सर्जिकल स्ट्राइक’ को नाममा गरिएको र यसले भारतीय राज्यको साम्राज्यवादी चाकरी र आतङ्कबादी प्रवृत्तिलाई उजागर गरेको वक्ताहरूको धारणा थियो ।

कार्यक्रमले दक्षिण एशियामा क्रान्तिकारी आन्दोलनमाथिको दमनविरुद्ध व्यापक प्रतिरोध, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र वैज्ञानिक समाजवादी वैकल्पिक बाटोको आवश्यकता औंल्याएको थियो ।