सिटिइभिटीका आङ्गिक शिक्षालयहरूमा निःशुल्क शिक्षा लागू गर्न अखिल (क्रान्तिकारी) को माग
काठमाडौं, जेठ १३। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ।
संगठनले संविधान २०७२ को भाग ३, धारा ३१(३) लाई उद्धृत गर्दै माध्यमिक तहसम्म शिक्षा निःशुल्क हुनुपर्ने संवैधानिक प्रावधान रहेको स्मरण गराएको छ। अधिकांश सिटिइभिटी कार्यक्रमहरू माध्यमिक तहसँग मेल खाने भएकाले तीमा शुल्क असुली संविधानको मर्म विपरीत भएको संगठनको तर्क छ।
अखिल (क्रान्तिकारी) का अनुसार, शिक्षा सबै नागरिकका लागि पहुँचयोग्य, समान र सर्वसुलभ हुनुपर्छ। तर प्राविधिक शिक्षामा निजीकरण र व्यापारीकरण हावी हुँदै गएपछि निम्न तथा मध्यम वर्गका विद्यार्थीहरू शिक्षा पहुँचबाट बञ्चित हुने स्थितिमा पुगेका छन्।
“सिटिइभिटीका सम्पूर्ण आङ्गिक शिक्षालयहरूमा तत्काल निःशुल्क शिक्षा लागू गरिनुपर्छ,” संगठनले स्पष्ट पारेको छ, “यसका लागि सरकार र सम्बन्धित निकायहरूलाई दबाब दिन हामी तयार छौं।”
संगठनले प्राविधिक शिक्षामा सरकारी लगानी अभिवृद्धि गर्न, शिक्षालाई वैज्ञानिक, व्यवहारिक र समावेशी बनाउन जोड दिएको छ। साथै, आगामी दिनहरूमा देशव्यापी रूपमा अभियान र आन्दोलन सशक्त बनाउने चेतावनी पनि दिएको छ।
अखिल (क्रान्तिकारी) ले यस पहललाई सर्वसाधारणका छोराछोरीका लागि गुणस्तरीय र समान शिक्षाको सुनिश्चितताका निम्ति जारी रहेको आफ्नो निरन्तर संघर्षको अङ्ग भनेको छ।
यस्तो छ ज्ञापनपत्र