नेकपा (बहुमत) निकट युवा संगठनद्वारा कञ्चनपुर वन कार्यालयका प्रमुखमाथि कालोमोसो

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट सहायक संगठन कम्युनिस्ट युवा संगठन नेपालले भ्रष्टाचार, बेथिति र अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालोमसो दलेर जनकारबाही गरेको छ।

युवा संगठनका अनुसार ठाकुरले लामो समयदेखि वनसम्पदाको दोहन, गैरकानुनी र मिलेमतोमा हुँदै आएको काठ तस्करी तथा सार्वजनिक सम्पत्तिमा अनियमितता गर्दै आएको प्रमाणसहित जनकारबाही गरिएको हो। संगठनले भनेको छ, “राष्ट्रिय सम्पत्ति र वनजंगल लुट्नेहरूलाई अब जनताको प्रतिरोध सामना गर्न तयार हुनुपर्छ।”

यसअघि, सोही पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली प्रमाणपत्र बनाउने र बेच्ने कार्यमा संलग्न भएको आरोपमा सिटिइभिटीका सहायक निर्देशक तथा हाल जनकपुरस्थित पीपी स्मृति प्राविधिक शिक्षालयका प्राचार्य गोबिन्द पौडेलमाथि पनि कालोमसो दलेर जनकारबाही गरेको थियो।

नेकपा (बहुमत) निकट संगठनहरूले हालसालै राज्यसंयन्त्रभित्र व्याप्त भ्रष्टाचार, अनियमितता र दण्डहीनताको विरुद्धमा आक्रामक कार्यनीति अपनाउँदै जनस्तरबाट प्रतिरोध र प्रतिवादका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।