दुई हिमाल चढेपछि कविताको आत्मखोज : ‘यो जित होइन, रूपान्तरण थियो’

काठमाडौं । अभिनेत्री तथा डान्सर कविता नेपालीले हालै सगरमाथा (८,८४८.८६ मि.) र ल्होत्से (८,५१६ मि.) दुई अग्ला हिमाल आरोहण गरेकी छन्। एकै हप्ताभित्र दुईवटा ८ हजार मिटरभन्दा अग्ला शिखर चढ्दै उनले नेपाली कला क्षेत्रबाट यस्ता साहसिक कार्य गर्ने दुर्लभ उदाहरण पेश गरेकी छन्।

गत आइतबार उनले सगरमाथा र त्यसको भोलिपल्ट ल्होत्से चढेकी हुन्। एकपछि अर्को विश्वका शिखरमा पाइला टेकेपछि उनले सामाजिक सञ्जालमा एउटा भावुक र गहिरो अनुभूति बाँडेकी छन् — जुन उनको मात्र होइन, साहस र आत्मखोज गर्ने हरेकका लागि प्रेरणा बन्न सक्छ।

“यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन,” उनले लेखेकी छन्, “यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरू भन्दा माथि उठ्नेहरूका लागि थियो। सबैभन्दा महत्वपूर्ण कुरा, मैले यसलाई जितिनँ — म यो जितभन्दा माथि थिएँ। म एक व्यक्तिको रूपमा हुर्किएँ। मैले आफैँभित्र हराइरहेका टुक्राहरू फेला पारेँ, जुन हराएको भन्ने मलाई थाहा थिएन।”

उनको यो हिमाली यात्रा एलिट एक्सपिडिसन नामक आरोहण संस्था मार्फत सम्पन्न भएको हो, जसको नेतृत्व विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जाले गरेका हुन्। कवितासँगै एक दर्जनभन्दा बढी विदेशी आरोहीहरूले पनि यो साहसिक यात्रा पूरा गरेका थिए।

कविता नेपाली नेपाली टेलिभिजन र म्युजिक भिडियो क्षेत्रमा परिचित नाम हुन्। उनी चर्चित रियालिटी शो ‘बुगी वुगी’ की विजेता हुन्। सयभन्दा बढी म्युजिक भिडियो र केही वेब सिरिजहरूमा अभिनय गरेकी उनले अहिले आफ्नो डेब्यु फिल्म ‘एक्लो’ को प्रदर्शन तयारीमा ल्याएकी छन्।

कलाको संसारबाट हिमालको शिखरसम्मको यात्रामा कविता नेपालीले देखाएको आत्मबल, प्रतिबद्धता र रूपान्तरणको कथाले नेपाली युवाहरू, विशेषतः महिलाहरूका लागि नयाँ ढोका खोलिदिएको छ।

उनको कथाले भन्छ — शिखर चढ्नुअघि आत्मा चढ्नुपर्छ, र आत्मा चढेपछि शिखरहरू मात्र बाटो हुन सक्छन्।