दलित समुदायको आवाज बुलन्द पार्ने गोलमेच सम्मेलन जेठ ३० देखि काठमाडौंमा
काठमाडौं । दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरणका सवालमा गहिरो बहस र साझा एजेण्डा तय गर्ने उद्देश्यले राष्ट्रिय दलित गोलमेच सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा जेठ ३०, ३१ र असार १ गते आयोजना हुने भएको छ।
सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले अनामनगरमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका उद्देश्य र महत्वबारे स्पष्ट धारणा राख्दै यसले दलित समुदायका सवालमा नयाँ बहसको थालनी गर्ने विश्वास व्यक्त गर्नुभयो। अर्का संयोजक डा. मित्र परियारले सम्मेलनलाई दलित आन्दोलनको समन्वय र नीति निर्माणमा सशक्त आधार बनाउने अवसरको रूपमा व्याख्या गर्नुभयो।
सम्मेलन सचिवालय सदस्य तुलसी रसालि, सरोजदिलु विश्वकर्मा तथा सम्मेलनका प्रवक्ता अग्निशिखाले संयुक्त रूपमा जानकारी दिँदै सम्मेलनमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक अधिकार र पहिचानसम्बन्धी विषयमा गहिरो बहस हुने जनाउनुभयो।
प्रवक्ता अग्निशिखाका अनुसार डोम, मुसहर, चमार, पासवान, गान्धर्व, बादी, मिजार, परियार, विश्वकर्मा लगायत विभिन्न दलित समुदायबीच गोलमेच सम्मेलनको एजेण्डा तय गर्न पहिले नै छलफल गरिसकिएको छ। सम्मेलनले विविध समुदायबीच एकता, समानता र सशक्त सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
सम्मेलन आयोजक समितिले देशभरका सम्बन्धित संघसंस्था, सामाजिक अगुवा, समुदायका अध्यक्षहरू तथा सरोकारवाला सबैलाई सम्मेलनमा सहभागी भई आ–आफ्नो स्थानबाट आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न अपिल समेत गरेको छ।