सिटिइभिटीका सहायक निर्देशक पौडेललाई कालोमोसो दलेको आरोपमा २ विद्यार्थी नेता गिरफ्तार

जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सहायक निर्देशकसमेत रहेका बी.पी. स्मृति बहुप्राविधिक शिक्षालय, सपही धनुषाका प्राचार्य गोविन्द पौडेलमाथि कालोमोसो दलेको आरोपमा अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेताहरूलाई प्रहरीले सोमबार गिरफ्तार गरेको छ।

गिरफ्तार हुनेमा संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुष घिमिरे र केन्द्रीय सदस्य रामदेव महरा रहेका छन्। उनीहरूले पौडेलमाथि पनिका सानोठिमीमा कार्यरत रहदाँ फेल विद्यार्थीलाई गैरकानुनी तरिकाले पास गराएर नक्कली प्रमाणपत्र बिक्री गरेको, परीक्षा प्रणालीमा व्यापक अनियमितता गरेको र आर्थिक भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै जनकपुरस्थित कार्यकक्षमै कालोमोसो दलेका थिए।

अखिल (क्रान्तिकारी) ले घटनालाई ‘सिटीईभीटी शुद्धिकरण अभियान’ को हिस्सा भन्दै भ्रष्टाचारविरुद्धको जनकारबाही भनेको छ। संगठनका अध्यक्ष विरेन्द्र शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पैसाको भरमा नक्कली प्रमाणपत्र बिक्री गर्नेहरू शैक्षिक माफियाका प्रतीक हुन्। त्यस्ता पात्रलाई कानुनी कारबाही गर्नुको सट्टा, उनीहरूविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई गिरफ्तार गर्नु दुःखद र आपत्तिजनक छ।”

संगठनले गिरफ्तार नेताहरूको तत्काल रिहाइ र पौडेललाई पदबाट हटाई कडा कारबाहीको माग गर्दै चेतावनी दिएको छ— यदि भ्रष्टाचार ढाकछोप गर्न खोजियो भने विद्यार्थीहरू अझ सशक्त आन्दोलनमा उत्रिनेछन्।

यसअघि पनि अखिल (क्रान्तिकारी) ले सिटिइभिटी उपाध्यक्ष खगेन्द्र अधिकारीमाथि कालोमोसो दलेको थियो। संगठनले सिटिइभिटीभित्रका अनियमितता र माफियातन्त्र विरुद्ध चरणबद्ध अभियान चलाइरहेको जनाएको छ।