नक्कली सर्टिफिकेट बेचेको आरोपमा सिटिइभिटीका सहायक निर्देशक पौडेलमाथि कालोमोसो
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सहायक निर्देशक गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) नक्कली सर्टिफिकेट बेचेको आरोप लगाउँदै आइतबार कालोमोसो दलेर चेतावनीमूलक जनकारबाही गरेको छ।
संगठनको मधेश प्रदेश समितिले सार्वजनिक गरेको सात बुँदे आरोपमा, पौडेलले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कार्यरत हुँदा फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराई नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लाभ लिएको, परीक्षा तथा प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घूस-चलखेल गरेको उल्लेख छ।
त्यस्तै, हाल कार्यरत शिक्षालयमा कर्मचारी नियुक्तिमा अनियमितता गरेको र शैक्षिक माफियासँग मिलेर संस्थालाई निजी स्वार्थपूर्तिको माध्यम बनाएको समेत गम्भीर आपराधिक आरोपहरूमा पौडेल संलग्न रहेको बताइएको छ।
अखिल (क्रान्तिकारी) ले यस घटनालाई गम्भीर रुपमा लिएर पौडेललाई तत्काल निलम्बन गर्न र कडा कानुनी कारबाहीको लागि सम्बन्धित निकायलाई जोडदार माग गरेको छ। साथै, यदि यस विषयमा ढाकछोप वा संरक्षण गरियो भने संगठन अझ कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।
उल्लेखनीय छ कि, उक्त संगठनले केही समय अघि परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई समेत उनको कार्यकक्षमै गएर कालोमोसो दलेको थियो।
संगठनले सिटिइभिटी भित्र रहेका दलाल, माफिया र भ्रष्टाचारमा संलग्नहरूलाई पहिचान गरी ‘सिटिइभिटी शुद्धिकरण अभियान’ अन्तर्गत निरन्तर कारबाही प्रक्रिया अघि बढाइरहेको पनि जनाएको छ।