सभामुखज्यूको पनि माया लाग्छ कहिलेकाहीँ !
काठमाडौं । प्रतिनिधिसभामा आज केही बेर विशेष खैलाबैला भयो — त्यो पनि कुनै कानुन निर्माणको बहसले होइन, सांसद रोशन कार्कीको तीखा तर हास्यसिक्त टिप्पणीले।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कार्कीले सभामुख देवराज घिमिरेप्रति “माया लाग्छ” भनेर संसदमै गरेको व्यंग्यात्मक टिप्पणीले बैठक हलमा हाँसोको तरंग फैलिएको थियो। तर, हाँसोको पछाडि संसदप्रतिको उनको गम्भीर असन्तुष्टि लुकेको थियो।
“संसद भवनलाई बाहिरबाट हेर्दा मलाई पनि खैरो कोटमा सांसदको लोगो लगाएर भित्र छिर्न असाध्यै इच्छा थियो,” उनले भनिन्, “तर अहिले भित्र आएपछि थाहा भयो—यो त आत्मसम्मान धितो राख्ने ठाउँ पो रहेछ!”
सभामुखको आसनतिर हेर्दै कार्कीले थपिन्, “कहिलेकाहीँ त मलाई सभामुखज्यूको पनि माया लाग्छ, उहाँमाथिबाट यी दृश्य कस्तो देखिन्थ्यो होला? कतिपय माननीयज्यूहरु निद्रामा झुमिरहनु भएको छ, कुर्सीहरू खाली छन्, कोही खासखुसमै व्यस्त, मन्त्रीज्यूहरू त मोबाइलमै गम्भीर देखिनुहुन्छ — सायद भिडियो गेम खेलिरहनुभएको हो !”
कार्कीका यी टिप्पणीहरूप्रति उपस्थित सांसदहरू खुला हाँसोमा रमाए पनि उनले भनेको व्यंग्य गहिरो थियो— सत्ताका लागि संसदलाई नाटकघर बनाइँदैछ भन्ने आरोप उनले प्रष्ट राखिन्।
उनको भनाइमा, संसद नामको यो मर्यादित थलो सरकारले जनतालाई झुक्याउने एउटा औपचारिक माध्यममा परिणत हुँदै गएको छ। “अर्थमन्त्रीज्यू आउनुहुन्छ, बजेटका सिद्धान्त र प्राथमिकता पढ्नुहुन्छ, हामीले छलफल गर्छौं, संशोधन हाल्छौं—तर त्यो त सिङ्गो नाटक मात्र हुँदोरहेछ। निर्णय त पहिल्यै भइसकेको हुन्छ,” कार्कीले गुनासो पोखिन्।
उनका अनुसार संसदको औचित्य तब हुने थियो, जब नीति निर्माणभन्दा अघि नै जनप्रतिनिधिहरूको सार्थक सहभागिता हुनेथियो। तर हालको परिपाटीले सांसदलाई ‘साक्षीबस’ बनाएको छ, जुन लोकतन्त्रको घातक संकेत हो।