मध्यपहाड उक्लिएका प्रचण्डलाई किसानको काँक्रो उपहार !

दैलेख । फुलमालाको साटो काँक्रो ! चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधका किसान नगेन्द्र खड्का देशका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काँक्रोको डोको लिएर स्वागत गर्न पुगे।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा जम्बुकाँध पुग्दा किसान खड्काले पिठ्युँमा बोकेको डोकोबाट आफ्नै खेतमा फलाएको काँक्रो झिकेर उपहारस्वरूप प्रदान गरे। उनी प्रचण्डलाई स्वागत गर्ने क्रममा निकै उत्साहित देखिन्थे।

“फुलमाला किन चाहियो र ? मैले फलाएको काँक्रो नै मेरो माया हो,” खड्काको भनाइ थियो। तर, व्यस्तताका कारण अध्यक्ष प्रचण्डसँग विस्तृत संवाद हुन भने सकेन।

जीवन निर्वाहका लागि खेतीपातीमा आश्रित खड्काले उक्त अवसरलाई प्रयोग गरेर किसानका समस्या सुनाउन चाहन्थे। यद्यपि समयको अभावले आफ्ना कुरा खुलाउन नपाए पनि उनले आफ्नै पसिनाको उपज उपहार दिँदा गर्व महसुस गरे।

किसानको हातबाट आएको काँक्रोको उपहार प्रचण्डका लागि केवल तरकारी थिएन । त्यो मेहनत, पीडा र अपेक्षाको सन्देश पनि बोकेको थियो।