क्रान्तिकारी विद्यार्थी आन्दोलनका अग्रज नेताहरुलाई विशेष सम्मान
काठमाडौं । ६१औं विद्यार्थी एकता तथा विजय दिवसको अवसरमा माओवादी धाराका अग्रज क्रान्तिकारी विद्यार्थी नेताहरूलाई आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)को आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी आन्दोलनमा विशेष योगदान पु¥याएका पूर्व नेताहरू, पदाधिकारीहरू तथा शहीद परिवारहरूलाई सम्मान गरिएको हो।
संगठनका अनुसार शहीदहरूको सपना, बलिदान र ऐतिहासिक योगदानलाई सम्झँदै पूर्व अध्यक्षहरू, केन्द्रीय नेताहरू र शहीद परिवारहरूलाई विशेष श्रद्धासहित सम्मान गरिएको हो।
कार्यक्रममा लेखनाथ न्यौपाने, हिमाल शर्मा, शरद रसाइली, पूर्ण बहादुर सिंह, दीपेन्द्र चलाउने, चिरञ्जीवी ढकाल, प्रकाश शाही, मिलन राई, रामबहादुर तिरुवा, पूर्व केन्द्रीय सदस्य स्व. प्रज्वलका बहिनी महिना शाही लगायतलाई सम्मान गरियो।
उक्त कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै, पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा नेकपा (बहुमत)का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’, पार्टी निर्देशन समितिकी सचिव एवं पूर्व संविधानसभा सदस्य सरला रेग्मी ‘अनु’ लगायत नेताहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।
महासचिव बास्तोलाले बोल्दै भने, “राजनीतिमा सबैको इतिहास सुनौलो अक्षरले लेखिएको हुन्छ, अब माओवादी आन्दोलनको पुनरगठनको बेला आएको छ।” उनले पुनरगठनको सन्दर्भमा संस्कृति, शिक्षा र अर्थतन्त्रमा वैज्ञानिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे। साथै उनले वैज्ञानिक समाजवाद स्थापनाका लागि तथ्यमा आधारित नयाँ बहस अगाडि बढाउनुपर्ने बताए।
कार्यक्रममा सम्मानित पूर्व अध्यक्ष हिमाल शर्माले माओवादी आन्दोलनको पुनरगठन वैज्ञानिक समाजवादको बहसबाट मात्र सम्भव हुने उल्लेख गर्दै, नेताहरूको ऐक्यबद्धता अपरिहार्य रहेको बताए। त्यस्तै, शरद रसाइलीले आफू सम्मानित हुँदा विगतको आन्दोलनको मूल्य अझै बढी अनुभूत भएको बताए।
पूर्व अध्यक्ष पूर्ण बहादुर सिंहले क्रान्तिकारी आन्दोलनको स्तुति मात्र गरेर नहुने भन्दै, आजका केही नेताहरूको निराशाजनक भूमिकाप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले “बाघजस्तो विद्यार्थी आन्दोलन” अहिले “स्यालको जस्तो शैलीमा” व्यक्त भइरहेका अभिव्यक्तिलाई आक्रोशका रूपमा प्रस्तुत गरे।
पूर्व महासचिव दीपेन्द्र चलाउनेले समग्र विद्यार्थी आन्दोलनको समिक्षा गर्दै आगामी दिनको योजना तय गर्नुपर्नेमा जोड दिए। चिरञ्जीवी ढकालले विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासलाई संरक्षण गर्नु आवश्यक रहेको धारणा राखे।
विद्यार्थी नेता प्रकाश शाहीले विगतबाट सिक्दै नयाँ उचाइमा आन्दोलन उठाउनुपर्ने बताए भने, निवर्तमान अध्यक्ष मिलन राईले बेपत्ता पारिएका विद्यार्थीहरूको अवस्थाबारे सत्य तथ्य सार्वजनिक गर्न माग गरे।
त्यस्तै, सम्मानित नेता रामबहादुर तिरुवाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाअगावै विद्यार्थी आन्दोलन कमजोर बनाउनु हुन्न भन्ने धारणा राखे।
कार्यक्रममा शहीद तथा बेपत्ता योद्धाका परिवारजनको उपस्थिति रहेको थियो भने जनसाँस्कृतिक महासंघका कलाकारहरूले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी)का अध्यक्ष विरेन्द्र शाहले गरे भने सञ्चालन उषाकिरण आजादले र स्वागत मन्तव्य उपाध्यक्ष रुपा बुढामगरले दिएकी थिइन्।