विद्यार्थी आन्दोलनका अगुवा नेताहरूलाई सम्मान गरिँदै
काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनको ६१औं एकता दिवसको अवसरमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले क्रान्तिकारी आन्दोलनमा योगदान दिने अग्रज नेताहरूलाई विशेष सम्मान गर्ने भएको छ।
प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरूलाई औपचारिक रूपमा सम्मान गरिने सचिव डिबि शाहीले जानकारी दिएका छन्।
सम्मानित हुनेमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई लगायतका नेताहरू रहेका छन्।
शाहीका अनुसार, “पूर्व अध्यक्ष कमरेडहरूलाई सम्मान गर्नु संगठनको ऐतिहासिक दायित्व हो, जसले वर्तमान र भावी नेतृत्वलाई प्रेरणा प्रदान गर्छ।”
कार्यक्रममा शुभकामना आदानप्रदान, सम्मान तथा सांस्कृतिक प्रस्तुतिहरू पनि समावेश गरिनेछ। १२:३० बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।