स्ववियु विवादमा प्रशासनको प्रतिशोध, उम्मेदवार प्रहरीको खोजीमा

काठमाडौं, रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी विवाद नयाँ मोडमा पुगेको छ। निर्वाचन प्रक्रियामा देखिएको अनियमितता र स्ववियु गठनमा आपत्ति जनाएका विद्यार्थी नेतामाथि प्रशासनले प्रतिशोधस्वरूप कारबाही थालेको आरोप लागेको छ।

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा आरआर क्याम्पस अध्यक्ष पदका उम्मेदवार विवेक मयालमाथि प्रशासनले प्रहरीमा जाहेरी दिएको संगठनले जनाएको छ। मयालविरुद्ध प्रहरीले खोजी प्रक्रिया अघि बढाएको छ।

संगठनका अनुसार, २०८१ चैत ५ मा तोकिएको निर्वाचन पटक–पटक अवरुद्ध गर्दै अन्ततः अदालतको आदेशमा बैशाख ५ भित्र सम्पन्न गर्नुपर्ने निर्णय भएको थियो। तर, आदेशको अवहेलना गर्दै बैशाख १७ गते राति छलफलविना ‘सर्वसम्मत’ नाममा नयाँ स्ववियु घोषणा गरिएको थियो।

उक्त प्रक्रियाको विरोध गर्दै उच्च अदालतमा रिट दायर गरेपछि, त्यसको बदलास्वरूप विवेक मयाललाई अमुक घटनासँग जोडेर फसाउने प्रयास भइरहेको अखिल (क्रान्तिकारी)ले जनाएको छ। संगठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यप्रति कडा आपत्ति जनाउँदै भनेको छ, “अनावश्यक दुःख दिने नियतको यो कार्यप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं।”

संगठनले क्याम्पस प्रशासन र प्रहरीलाई राजनीतिक पूर्वाग्रहमा आधारित व्यवहार नगर्न चेतावनी दिँदै भनेको छ, “यदि हाम्रो नेतृत्वमाथि यस्तो दमन जारी रह्यो भने संगठन कडा प्रतिवादमा उत्रन बाध्य हुनेछ।”

अखिल (क्रान्तिकारी) लगायतका संगठनहरूले स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक स्ववियु निर्वाचनको माग गर्दै आएका छन्।

यस्तो छ वक्तव्य :