पाकिस्तानले भन्यो– हामीले जे गरिरहका छौँ, त्यो आत्मरक्षाका लागि हो
काठमाडौं । पाकिस्तानले द्विपक्षीय द्वन्द्व बढाएको भारतले आरोप लगाइरहेका बेला अमेरिकाका लागि पाकिस्तानी राजदूत रिजवान सइद शेखले आफ्नो देशले आत्मरक्षा गरिरहेको बताएका छन् ।
सीएनएनकी जेनिफर हान्स्लरसँगको कुराकानीमा उनले कश्मीरमा अप्रिल २२ मा २६ जनाको हत्या भएको घटनामा पाकिस्तानी सरकारको कुनै संलग्नता नभएको बताए ।
उनले भने, “भारतले गरेको हमलाको प्रतिकार गर्ने पाकिस्तानको अधिकार छ ।”
उनले अमेरिकाका लागि भारतीय राजदूत विनय क्वात्राले ‘भारतले तनाव नबढाउने उद्देश्यले हमला गरेको’ भनाइलाई खारेज गर्दै भने, “भारतले पाकिस्तानमा हमला गरेर पाकिस्तान चुप लागेर बस्छ भन्ने अपेक्षा गर्नु हास्यास्पद छ । हाम्रो सरकारलाई भारतलाई जवाफ दिने दबाब छ । र हामीले प्रतिक्रिया दिनेछौँ । यो आक्रमण लामो समयदेखि चलिरहेको छ ।”
शेखले तनाव कम गर्ने जिम्मेवारी भारतकै भएको बताए । उनले भारत र पाकिस्तानबीच राष्ट्रिय सुरक्षा सल्लाहकार तहमा सम्पर्क भएको बताए । तर, अहिले राजनीतिक बयानबाजी र अन्य कामबाट तनाव बढाउने प्रवृत्ति रोकिनुपर्ने बताए ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग गरेको टेलिफोन वार्तामा आतंकवादी समूहलाई समर्थन रोक्न ठोस कदम चाल्न आग्रह गरेका थिए । उक्त प्रश्नमा शेखले कोही आतंकवादी समूह नभएको बताउँदै भने, “त्यहाँ रहेका सबै संरचनाहरू सम्पूर्ण रूपमा नष्ट गरिएका छन् ।”