सरकारको नीति तथा कार्यक्रम डामाडोल छ : सांसद शाही
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा डामाडोल अवस्थामा रहेको बताएका छन् ।बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले देश अहिले आर्थिक र विकासको हिसाबले गम्भीर सङ्कटको मोडमा रहेको बताउँदै प्रमुख सूचकाङ्कहरू डामाडोल अवस्थामा रहेको बताएका हुन् ।
उनले रोजगारी नहुँदा बेरोजगार युवाहरू बिदेसिन बाध्य रहेको अवस्थामा सरकारले ल्याएको नीति तथा कार्यक्रमले आम नागरिकको पीडामा मलहम लगाउन नसक्ने जिकिर गरे । उनले सरकारको नीति तथा कार्यक्रम सुख्खा भाषण जस्तै सुनिएको टिप्पणी गरे ।
उनले भने, अघिल्लो पटक राखिएका जनमुखी कार्यक्रमहरू कटौती गरेर यथार्थमा नीतिलाई भाषण जस्तो बनाएको छ । विगतका वर्षका नीति तथा कार्यक्रमलाई विश्लेषण नगरी आज भन्दा सात वर्ष अगाडीको नीति तथा कार्यक्रमको कपी पेस्ट भेटिन्छ । त्यो समयमा ल्याइएको नीति तथा कार्यक्रमको तुलनात्मक जवाफ यो नीति तथा कार्यक्रमले दिन सकेको छैन ।”
उनले सरकारको नीति तथा कार्यक्रमले जनताको उत्साह जगाउनुको साटो निराशा थपेको बताए ।