मगर राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अध्यक्षमा मुना थापा मगर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल बागमती प्रदेशको अध्यक्षमा मुना थापा मगर निर्वाचित भएकी छन्।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो सम्मेलनले थापा मगरलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी मुना थापा मगर माओवादी आन्दोलनको युवा पुस्तामा सम्भावनाशील, आशावादी र जुझारु नेतृका रूपमा उदाउँदै आएकी छन्।

उनीमा युवा पुस्ताको मनोविज्ञान बुझ्ने र जित्ने नेतृत्व क्षमता देखिन्छ। यही कारणले मगर राष्ट्रिय मुक्ति मोर्चाको बागमती प्रदेश संगठनले उनको अध्यक्षतामा नयाँ उत्साह, ऊर्जा र गति लिने अपेक्षा गरिएको छ।