‘जनमतको कमी छैन’ भन्दै माधव नेपालको बोली फिँजियो, तर यथार्थ कहाँ छ?
काठमाडौं । पार्टी सुक्खा हुँदै गर्दा बोली चिल्लो बनाउने नेताको नाम हो— माधवकुमार नेपाल। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गर्जिए— “हाम्रो पार्टीलाई जनमतको कमी छैन।” तर यथार्थले उनको बोलीभन्दा भिन्न कथा बाँचिरहेको छ।
२०७९ को निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने न्यूनतम सर्तसमेत पूरा गर्न नसकेको नेकपा (एकीकृत समाजवादी) अहिले पनि गुटबन्दी, विचलन र नेतृत्वहीनतामा अल्झिएको छ। त्यसमाथि अध्यक्ष नेपालको चर्को भाषणले कार्यकर्तामा आत्मविश्वास थप्ने कि भ्रम फैलाउने भन्ने बहस चुलिएको छ।
उनको दाबीअनुसार— “एनजीओ, सहकारी र आइएनजीओमा आबद्ध लाखौं जनताको मत पार्टीमा ल्याउन सकिएको भए हामी सजिलै राष्ट्रिय पार्टी बन्ने थियौं।” प्रश्न उठ्छ— ५० वर्षभन्दा बढी राजनीतिक अनुभव बोकेको नेताले मत ल्याउन सक्ने रणनीति किन बनाउन सकेनन्?
नेपालले देश दौडाहामा “हिमाल, पहाड र तराईमा साथ दिने जनताको अभाव छैन” भनेका छन्। तर यिनै दौडाहामा उनले साथ पाउनेहरूमध्ये कति मतदाताको रूपमा परिणत भए? भुइँ तहमा पार्टीको संगठन कुन हालतमा छ भन्ने प्रश्नको उनले कुनै ठोस उत्तर दिएका छैनन्।
कालिकोट, रासकोट, हुम्ला, रौतहट, सप्तरीजस्ता जिल्लामा ‘हजारौंको जुलुस’ देखिएको उनले बताए पनि ती जुलुस कुन संख्याको मतमा परिणत भए भन्ने तथ्य अझै गोप्य छ।
मुलुकमा भ्रष्टाचार, असमानता र वर्वरताको सत्ताले जनता थिचिरहेका बेला, नेकपा (एस) ले वैकल्पिक विचार दिन नसकेको आलोचना चुलिएको छ। यथार्थ के हो भने, पार्टी भित्रै असन्तोष, वैचारिक भ्रम र नेतृत्वप्रतिको अविश्वास गहिरिँदै गएको छ।
“हामी अरूभन्दा शक्तिशाली बन्छौं,” भन्ने अध्यक्ष नेपालको भनाइ सुन्दा लाग्छ— उनी अझै पनि पुरानो सपना बेचिरहेका छन्। तर जनता अब सपना होइन, ठोस विकल्प खोजिरहेका छन्।