अनधिकृत पत्र प्रकरण : महिमान सिंह विष्टको हिरासत म्याद ४ दिन थप
काठमाडौं । सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी रेशम चौधरीलाई पक्राउ गराउन पत्र लेख्ने शाखा अधिकृत महिमान सिंह विष्टमाथि थप ४ दिनको म्याद लम्ब्याइएको छ।
बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
विष्टले सर्वोच्च अदालतको नाममा डिल्लीबजार कारागारलाई रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। सो पत्रअनुसार चौधरीलाई थुनामा राखिएको थियो। तर, पत्र अनधिकृत भएको पुष्टि भएपछि सर्वोच्चले अर्को पत्र पठाएर रिहा गर्न निर्देशन दिएको थियो। चौधरी करिब साढे चार घण्टामै रिहा भएका थिए।
महिमानविरुद्ध तीनवटा मुद्दामा (दफा ८४: झुट्टा जानकारी दिने, दफा ८६: राष्ट्रसेवकलाई सहयोग गर्न इन्कार गर्ने, दफा २७६: कीर्ते (नक्कली कागजात बनाउने) मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
प्रमाणित भएमा ८ वर्षसम्म कैद र ८० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।