श्रम सुरक्षाको माग गर्दै काठमाडौंमा बहुमत निकट मजदुरहरूको प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले काठमाडौंमा श्रमिक प्रदर्शन तथा सभा आयोजना गरेको छ।

“श्रमको सुरक्षा र उद्योगमा मजदुरको लगानी सुनिश्चितताका लागि ८औं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ काठमाडौंमा सम्पन्न हुँदै गरेको महासंघको ८औं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम बिहीवार आयोजना गरिएको हो।

महासंघका संयोजक ध्रुव खडकाले मे दिवस र राष्ट्रिय सम्मेलनलाई भव्य र ऐतिहासिक बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार, उक्त सम्मेलनले मजदुरको अधिकार, श्रम सुरक्षाको प्रत्याभूति, तथा वैज्ञानिक समाजवादको आधारमा उद्योगहरूमा श्रमिकको सहभागिता सुनिश्चित गर्ने एजेन्डालाई सशक्त रूपमा अघि सार्ने छ।

कार्यक्रम बिहान ११:०० बजे काठमाडौंको माइतीघर मण्डलाबाट सुरु भई त्रिपुरेश्वर हुँदै शान्तिबाटिका पुगेर सभामा परिणत भएको थियो।

सभामा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’, नेता गुणराज लोहनी, थमन सिंह राई ‘निर्मल’ लगायतले सम्बोधन गरेका छन्। नेताहरूले श्रमिकवर्गको क्रान्तिकारी भूमिका, संसदीय व्यवस्थाको असफलता, र वैज्ञानिक समाजवादको आवश्यकता विषयमा धारिलो टिप्पणी गरेका थिए।

उनीहरूले श्रमिकलाई शोषण, असुरक्षा र बेरोजगारीबाट मुक्त गराउने एकमात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएको जिकिर गर्दै, त्यसका लागि क्रान्तिकारी आन्दोलनमा एकजुट हुन आह्वान गरेका छन्।

महासंघको सम्मेलनले श्रम क्षेत्रका समसामयिक समस्याहरूको गम्भीर समीक्षा गर्दै नीतिगत प्रस्तावहरू समेत पारित गर्ने जनाएको छ।