शिक्षकको आन्दोलनलाई दलाल सम्झौताबाट जोगाऔं : गुणराज लोहनी
काठमाडौं । शिक्षक आन्दोलनका पुराना र अनुभवी नेता गुणराज लोहनीले हालको शिक्षक आन्दोलनलाई दलाल सम्झौताबाट जोगाउनका लागि सम्पूर्ण शिक्षक नेताहरुलाई सचेत गराएका छन्। उनले भने, “शिक्षक आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, समग्र शिक्षा प्रणालीको सुधार र शिक्षकहरूको पेशागत सुरक्षाका लागि हो। यसलाई कमजोर पार्ने, सम्झौतावादी प्रवृत्तिमा ढाल्ने प्रयासहरूबाट हामीलाई जोगिनु पर्छ।”
लोहनीका अनुसार, नयाँ शिक्षा ऐनको सुनिश्चितता र शिक्षकहरूको पेशागत हक बिना कुनै पनि सहमति आन्दोलनको उद्देश्यसँग बाझिने र “जनताको विश्वास” माथि गद्दारी हुनेछ।
लोहनीले निजी विद्यालयका शिक्षकहरूलाई शोषित भन्दै उनीहरूको पेशागत हक र स्थायित्वका लागि थप ध्यान दिनुपर्ने आवश्यकता पनि जनाए। “निजी विद्यालयका शिक्षक आज पनि न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य छन्। यिनीहरूको शोषण रोक्नका लागि समग्र पेशागत सुरक्षाको ग्यारेन्टी दिनु अनिवार्य छ,” उनले भने।
लोहनीले ५५ लाख बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन्, तर “कक्षा १ मा भर्ना भएका मध्ये ६१% विद्यार्थीले विद्यालय शिक्षा पूरा गर्दैनन्।” यसले नेपालको विद्यालय शिक्षामा गम्भीर समस्या रहेको संकेत गर्दै उनले सरकार र शिक्षा मन्त्रालयसँग दीर्घकालीन सुधारको पक्षमा कदम चाल्न आग्रह गरे।
लोहनीले शिक्षक आन्दोलनका नेताहरूलाई सतर्क रहने र वास्तविक उद्देश्यको सम्मान गर्दै सहमति प्रक्रिया अघि बढाउन आग्रह गरे। “हामीले आफूलाई शिक्षाको सुधारकका रूपमा प्रस्तुत गर्दै आएको छौं। यदि हामीले आन्दोलनको मर्मलाई बेवास्ता गरेर कुनै दलाल सम्झौतामा सन्तुष्ट भए भने, त्यो शिक्षा र शिक्षकहरूको भविष्यसँग धोका हुनेछ,” उनले थपे।
लोहनीले सम्पूर्ण शिक्षक नेताहरुलाई पुनः एकता र संघर्षका लागि आह्वान गर्दै भने, “हामी सबैलाई एकजुट भएर, आन्दोलनको उद्देश्य पूरा गर्नको लागि मात्र कदम चाल्नु पर्नेछ। केवल सम्झौता गरेर हामी परिवर्तन ल्याउन सक्दैनौं।”