कीर्तिपुरको डाँडा र लाखौँ कमाइ: गगन थापाको धारणा पुनः चर्चामा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको “कीर्तिपुरको डाँडाबाट पनि लाखौँ कमाउन सकिन्छ” भन्ने धारणा पुनः एकपटक चर्चामा आएको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी नीतिगत सुझाव प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै उनले विगतमा दिएको आफ्नो अभिव्यक्तिको बचाउ गरे।

“मैले कीर्तिपुरको डाँडाबाट महिनामा दुई–तीन लाख कमाउन सकिन्छ भनेको थिएँ। धेरैले त्यसलाई मजाकको रूपमा लिए, आलोचना गरे। तर म अझै पनि उही कुरा दोहोर्‍याउँछु – त्यो सम्भव छ,” उनले भने।

थापाले स्पष्ट पारे कि कुनै भूगोल वा बसोबासको अवस्थाले होइन, सीप, ज्ञान र अवसरले व्यक्ति सक्षम हुन्छ। “हामीले हरेक नागरिकलाई योग्य बनाउनुपर्छ, सीप दिनुपर्छ। सीप भए डाँडाबाटै पनि आम्दानी गर्न सकिन्छ,” उनले जोड दिए।

उनको यो धारणा पुनः सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा फेरि चर्चा सुरु भएको छ। कसैले यो सम्भावनावादी दृष्टिकोणको स्वागत गरेका छन् भने कतिपयले यसलाई व्यवहारमा लागू गर्न गाह्रो रहेको बताउँदै आलोचना गरेका छन्।